

महेन्द्रनगर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सिडिओ मतदानको ७२ घण्टा अघि भारतबाट आफ्ना मतदाता बोलाउन उम्मेदवारलाई आग्रह गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिमा गरेको निर्वाचन आचार संहिता सम्बन्धि छलफलमा प्रमुख अधिकारी कोइरालाले चुनावमा सुरक्षा व्यवस्था मजबुत बनाएको र मतदानको ७२ घण्टा अघि सीमा नाका बन्द हुने भएकाले मतदाता बोलाउन आग्रह गरेका हुन् ।

‘मतदानको ७२ घण्टा अघि नाका बन्द हुन्छ, आफ्ना मतदाताहरुलाई समयमा बोलाउने पर्ने हुन्छ, त्यसका लागि आग्रह गर्छु’ उनले भने ।

सिडिओ कोइरालाले चुनावका लागि शान्ति सुरक्षा मजबुत भएको र सामाजिक सञ्जालको कडा निगरानी गरिएको जानकारी दिए ।
उनले उम्मेदवार वा दलले निर्वाचन आचार संहिता उलङघन गरेको लिखित उजुरी नपरेको बताए । ‘अहिलेसम्म आचारसंहिता उलङघन भएको बारे हामीकहाँ उजुरी परेको छैन, बरु समाजिक सञ्जाल मार्फत अलानो फलानोले उलङघन गरिरहेको भन्दै मौखिक गुनासो आईरहेको छ, ‘उनले भने, ‘त्यस विषयमा पनि हामीले सुक्ष अनुगमन गरेका छौँ ।’ आचारसंहिता जिल्ला अनुगमन समितिका संयोजक समेत रहेका प्रजिअ कोईरालाले आचार संहिता कार्यान्वयन सबै पक्षबाट गर्न अनुरोध गरेका छन ।
कार्यक्रममा काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा), राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा), नेकपा(माओवादी), नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्तका नेता तथा उम्मेदवार सहभागी भएका छन् ।
जिल्ला निर्वाचन अधिकृत कार्यालय कञ्चनपुरका प्रमुख हरिश प्रशाद जोशीले आचारसंहिता जानकारी दिए ।
निर्वाचन अनुगमन संयोजक कृष्ण बहादुर धामीले यस पटक निर्वाचनलाई थप पारदर्शी बनाउन आयोगले उम्मेदवार, दलको छुट्टै खाता सञ्चालन गरेर सहयोग लिनेदेखि खर्च सोही खाता मार्फत संचालन गर्नुपर्ने प्रावधान कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

