

महेन्द्रनगर । प्रेस चौतारी नेपाल कञ्चनपुरले बिहीबार गरेको उम्मेदवार पत्रकार भेटघाट कार्यक्रममा कञ्चनपुर ३ का उम्मेदवार डा. दिपक प्रकाश भट्ट र समानुपातिक उम्मेदवार निरुदेबी पालले एकै मञ्चमा बसेर आफ्ना धारणा राखे । डा. भट्टले पहिला आफ्नो धारणा राखेपछि प्रमुख अतिथिका रुपमा पालले आफ्नो मन्तव्य राखेकी थिइन् ।
एमाले कञ्चनपुर इन्चार्ज पालले एमालेले कञ्चनपुरका तीन ओटै सीट जित्ने दाबी गरिन् । त्यसका लागि एमाले तीन ओटै क्षेत्रमा एक ढिक्का भएर चुनावी मैदानमा होमिएको पालको भनाई थियो ।

पाल २०७९ को निर्वाचनमा कञ्चनपुर ३ मा पूर्व गृह मन्त्री रमेश लेखकसित पराजित भएकी थिइन् । त्यस अघि उनी २०७४ मा समानुपातिक साँसद भएकी हुन् ।
२०७४ मा डा. भट्टले प्रत्यक्ष र पालले समानुपातिक उम्मेदवार भएर निर्वाचित भएका थिए । ८ वर्षपछि फेरि उनीहरु दुबै जना २०७४ झैं चुनावी मैदानमा होमिएका छन् ।
कञ्चनपुर ३ का एमाले उम्मेदवार डा. भट्ट पार्टीभित्र संगठित सदस्य मात्रै हुन् । एमाले ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार उनी पराजित भएका थिए ।
केन्द्रीय सदस्य पराजित भट्टलाई एमालेले यस पटक फेरि चुनावी मैदानमा पठाएको हो । यस अघि उनले २०७४ मा पूर्व गृहमन्त्री रमेश लेखकलाई पराजित गरेका थिए ।
एमाले इन्चार्ज पाल कञ्चनपुरका सबै क्षेत्रमा एमाले चुनाव आफ्नो पक्षमा पार्ने गरी उत्साहित भएर चुनावमा होमिएको बताउँछिन् ।
‘यो चुनाव राष्ट्र, राष्ट्रियता, देश निर्माण गर्ने र जनताको समस्या समाधान र देशलाई संकटबाट निकास दिन हुन लागेको छ’ उनले भनिन्,‘त्यसका लागि एमाले सशक्त, जुझारु र उत्साहपूर्वक मैदानमा होमिएको छ ।’
एमाले इन्चार्ज पालले एमालेको राष्ट्र र राष्ट्रियताको अडानलाई सबै जनताले बुझेको बताइन् । भारत अतिक्रमित लिपुलेक र कालापानी भूभागलाई नेपाली नक्सामा समेटिएको सबैलाई जानकारी भएकाले एमालेले राष्ट्रियताका लागि खेलेको भूमिकालाई जनताले साथ दिने उनको विश्वास छ ।
एमालेका तीन क्षेत्रमा बलियो प्रभाव भएका उम्मेदवार भएको र विघटित संसदको सबैभन्दा ठूलो दल विभाजनको फाइदा पनि एमालेलाई हुन सक्ने पालले बताइन् ।
कञ्चनपुर ३ मा डा. भट्ट र निर्वाचन क्षेत्र नं. १ मा तारालामा तारालामा तामाङ्ग यस अघि निर्वाचित भइ सकेका छन् ।
निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बचन बहादुर सिह पहिलो पटक संघीय निर्वाचन लड्न लागेका हुन् । उनी यस अघि २०७९ मा प्रदेश सभा सदस्यमा थोरै मत अन्तरले पराजित भएका थिए ।
२०७९ मा तामाङ्ग तत्कालिन काँग्रेस माओवादी गठबन्धनलाई ६ हजार मत अन्तरले पराजित गरी निर्वाचित भएका थिए ।
कञ्चनपुर ३ का उम्मेदवार डा. भट्टले पूर्व गृहमन्त्री लेखकलाई हराएका थिए । २०५६ देखि लगातार कञ्चनपुर ३ बाट साँसद हुँदै आएका लेखक पहिलो पटक भट्टसित पराजित भएका थिए ।
२०७९ मा एमाले तत्कालिन नेकपा माओवादी केन्द्र र काँग्रेस गठबन्धनसित चुनाव लडेको थियो ।
कञ्चनपुर २ मा एमाले उम्मेदवार नर बहादुर धामी काँग्रेसका एनपी साउँदसित पराजित भएका थिए । २०७४ मा धामीले साउँदलाई हराएका थिए ।
एमालेले यस पटक साउँदसित राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष सिहलाई उम्मेदवार बनाएको छ ।

एमालेले जिल्ला अध्यक्ष लक्ष्मी बुढाको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरी सबै निर्वाचन क्षेत्रमा निर्वाचन प्रचारप्रसार सुरु गरेको छ ।
कञ्चनपुर ३ र १ का उम्मेदवारले पत्रकार सम्मेलन गरी आफ्नो धारणा राखि सकेका छन् ।
निर्वाचन क्षेत्र नं. २ का उम्मेदवारको पत्रकार भेटघाट कार्यक्रम गर्ने तयारी गरिएको एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बताए ।
कञ्चनपुर ३ का उम्मेदवार डा. भट्ट विगतमा आफूले सुरु गरी अधुरा रहेका विकास योजना र अन्य योजनाको कार्य अघि बढाउने बताउँछन् ।
डा. भट्टले २०७४ को चुनावमा मझगाउँ विमानस्थल सञ्चालन, महाकाली प्रादेशिक अस्पताल सुधार, महाकाली चार लेन पुल निर्माण, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण, महाकाली कोरिडोरको ब्रह्मदेब कौवानी खण्ड निर्माण सुुरु, महाकाली सिँचाई आयोजनाको नहरलाई टनकपुरसम्म जोड्ने, दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्ने मुख्य चुनावी एजेण्डा बनाएका थिए ।
भट्टले ती सबै चुनावी एजेण्डा अनुसार काम अघि बढाएका छन् । दोधारा चाँदनीमा स्वास्थ्य केन्द्र स्तरोन्नति भएर नगर अस्पताल बनेको छ । अन्य विकास निर्माण कार्य निर्माणाधिन छन् ।
कञ्चनपुरको आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको सुख्खा बन्दरगाहलाई पूर्णता दिई महाकाली करिडोरसँग जोड्दै कञ्चनपुरलाई त्रिदेशीय व्यापारिक नाकाका रूपमा विकास गर्ने उनको दीर्घकालीन योजना छ। यसले भारत र चीनसँगको व्यापारिक पहुँच विस्तार हुनुका साथै स्थानीय रोजगारी सिर्जना र लगानी प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ। भने भारतमुखि आप्रवासनलाई नीतिगत रुपमै व्यवस्थापन बनाउन पहल गर्ने उनले बताए ।
भौतिक पूर्वाधार विकासतर्फ डा. भट्टले केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको गड्डाचौकीदेखि चिसापानीसम्मको चार लेन सडक स्तरोन्नति योजनालाई उच्च प्राथमिकतामा राख्ने बताए । उक्त सडकको डिपिआरदेखि निर्माण सम्पन्नसम्म संघीय तहबाट विशेष पहल गरिने उनको प्रतिबद्धता छ ।
शिक्षा क्षेत्रतर्फ डा. भट्टले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। सुदूरपश्चिममा जडिबुटीको प्रचुर सम्भावना रहेकाले हर्बल साइन्स अध्ययन सुरु गर्ने, खेलकुद क्षेत्रमा सम्भावना भएकाले स्पोट्र्स साइन्स, जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता (एआई) तथा साइबर सेक्युरिटीसम्बन्धी अध्ययन कार्यक्रम सुरु गराउने प्रतिबद्धता उनले व्यक्त गरे ।
स्वास्थ्य क्षेत्रको सुधारलाई उच्च प्राथमिकतामा राख्दै उनले महाकाली अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजना प्रस्तुत गरे । त्यसका लागि कैलालीको गेटामा अवस्थित दशरथ चन्द चिकित्सा विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा महाकाली अस्पताल सञ्चालन गरिने उनको भनाइ छ ।
गेटालाई नेपालकै पहिलो मेडिकल विश्वविद्यालयका रूपमा विकास गर्ने परिकल्पना आफ्नै पहलमा अघि बढेको उल्लेख गर्दै उनले यसबाट सुदूरपश्चिममै विशेषज्ञ चिकित्सक उत्पादन र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित हुने विश्वास व्यक्त गरे।
त्यस्तै, भीमदत्त नगरपालिकामा स्थापना भएको महाकाली बहुप्राविधिक शिक्षालयमा स्नातक तहका प्राविधिक कार्यक्रम थप गर्ने योजना पनि उनले सार्वजनिक गरे । यसले स्थानीय युवालाई आफ्नै जिल्लामा सीपमूलक तथा प्राविधिक शिक्षा प्राप्त हुने र वैदेशिक निर्भरता घट्ने उनको भनाइ छ ।
पर्यटन विकासका सन्दर्भमा डा. भट्टले कञ्चनपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन दृष्टिकोण प्रस्तुत गरे ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जैविक विविधता अध्ययन केन्द्र तथा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, ब्रह्मदेवदेखि साकेतधामसम्म धार्मिक–पर्यटकीय मार्गको निरन्तरता दिने, बागफाँटा–झुलुङ्गे पुलसहितको भीमदत्त नगर चक्रपथ तथा खप्तड–बढिमालिका–सैपाल ट्र्याक रेञ्ज विकासमार्फत सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्ने योजना उनले अघि सारे । धार्मिक–पर्यटकीय मार्ग र भीमदत्त चक्रपथको योजना हाल अवरुद्ध रहेकामा ती योजनालाई पुनः गतिशील बनाइने उनको भनाइ छ ।
उनी पार्टीका नीतिगत, वैचारिक तथा अन्तर्राष्ट्रिय मामिलामा लामो समयदेखि सक्रिय छन् । २०४५ सालदेखि भारत प्रवासमा रहँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनमार्फत संगठन निर्माणमा सक्रिय रहेका उनले महासचिव हुँदै २०५७ देखि २०६२ सम्म केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।
२०५२ सालमा एमालेको संगठित सदस्य बनेका भट्टले पिथौरागढ नगर कमिटी सचिव, दिल्ली राज्य कमिटी सदस्य, पार्टी राष्ट्रिय परिषद सदस्य, भारत प्रवास समन्वय कमिटी सदस्यलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै संगठन विस्तारमा योगदान दिएका छन् ।
२०४६ सालको जनआन्दोलनका क्रममा पिथौरागढमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनीसँग संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य तथा उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल सदस्यका रूपमा काम गरेको अनुभव छ ।
शान्ति प्रक्रियामा समेत उल्लेखनीय भूमिका खेलेका डा. भट्टले २०६५ देखि २०६९ सम्म माओवादी सेनाका लडाकुहरूको समायोजन तथा पुनःस्थापनासम्बन्धी विशेष समितिको सचिवालय सदस्यका रूपमा काम गरेका थिए।

