

महेन्द्रनगर । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ७ बडूगाउँको मोडमा बिहीबार अपराह्न अन्दाजी ७ः३० मा भएको जन्तीको बस दुर्घटनामा चार जना सहोदर दाजुभाइ र चार जना बाबु–छोराको ज्यान गएको पुष्टि भएको छ ।
घटनामा १३ जनाको ज्यान गएकोमा बित्थडचिर–७ लगुणासाका नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजु–भाइ हुन् । दाजु नरेन्द्र बित्थडचिर–७ का वडा सचिव हुन् भने भाइ विष्णु स्थानीय महादेव माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक हुन्। यस्तै घटनामा ज्यान गुमाउने वसन्तराज जोशी मृतक नरेन्द्र र विष्णुदत्तका भतिजा हुन् ।

घटनामा ज्यान गुमाउने वसन्तराज जोशी, मृतक नरेन्द्रराज र विष्णुदत्तका माइलो दाजुको जेठो छोरा हुन् । वसन्तराज दार्चुलाको शैल्यशिखरमा नगरपालिकामा कृषि प्राविधिक पदमा कार्यरत थिए ।
घटनामा ज्यान गुमाउने ४० वर्षीय केशवराज जोशी र अशोकराज जोशी बाबु–छोरा हुन्। केशवराजका एकमात्र छोरा अशोकराजको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, बेहुलाका दाजु उत्तमराज जोशीका अनुसार सोही घटनामा गम्भीर घाइते भएका किसनदत्त जोशी र विसनदत्त जोशी पनि सहोदर दाजुभाइ हुन्। उनीहरू दुबैको डडेल्धुरा ल्याउने क्रममा ज्यान गएको हो ।
यस्तै घटनास्थलमै ज्यान गुमाएका बझाङको केदारस्युँ गाउँपालिका घर भएका ६० वर्षीय मोहनदेव भट्ट र केशवराज भट्ट पनि बुवा–छोरा हुन्। उनीहरू मृतक नरेन्द्रराज र विष्णुदत्तका भिनाजु र भानिज हुन् ।
