

महेन्द्रनगर । कञ्चनपुर ३ का काँग्रेस उम्मेदवार हरि प्रसाद बोहराको चुनाव प्रचारका लागि दोधारा चाँदनी नगरपालिकाका सबै वडामा चुनाव सम्पर्क कार्यालय खोलिएका छन् । पूर्व गृहमन्त्री रमेश लेखक सहितका नेताहरु सबै वडाका सम्पर्क कार्यालय उदु्घाटन कार्यक्रममा सहभागी भएका छन् ।

दोधारा चाँदनी नगरपालिकामा १० वडा छन् । काँग्रेसका अनुसार लेखक सहित केन्द्रीय सदस्य सन्तोषी ऐरी, उम्मेदवार बोहरा, सुदूरपश्चिम प्रदेश सहमहामन्त्री गोपाल भट्ट लगायतका नेता सहभागी भएका छन् ।

काँग्रेस कञ्चनपुर क्षेत्र नं. ३ का सभापति केशव चन्दले बोहराको चुनाव प्रचार तीव्र पारिएको बताए । उम्मेदवार बोहरा निर्वाचन क्षेत्रको घरदैलोमा व्यस्त छन् । शनिबार बोहराले भीमदत्त नगरपालिका १ लगायतका वडामा घरदैलोमा गरेका छन् ।
काँग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा घरदैलो कार्यक्रम संगै प्रत्येक वडाहरुमा सम्पर्क कार्यालय उद्घाटन गर्दै आएको छ ।
