

महेन्द्रनगर । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा अछाम निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । उम्मेदवारहरू घरदैलो, टोलभेला र वडा भेलामार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो पक्षमा मत मागिरहेका छन् ।
यसैक्रममा नेकपा एमालेका उम्मेदवार यज्ञ बोगटीले चुनावी प्रचारप्रसार अभियानलाई व्यापक बनाएका छन् । उनी यति बेला गाउँ–गाउँ पुगेर मतदातासँग भेटघाट गर्दै आफ्नो पक्षमा समर्थन जुटाइरहेका छन् । बोगटीले बलियो संगठन र जनताको साथका कारण आफू निर्वाचन जित्नेमा विश्वस्त रहेको बताएका छन् ।

उनले २०७४ सालमा अघि सारेका विकासका योजनाहरू विभिन्न कारणले अधुरा रहेको उल्लेख गर्दै अब ती योजनालाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । चिसापानी–जंगलघाट–खक्रौला सडकलाई हिल्सासम्म जोड्दै क्षेत्रलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्ने आफ्नो योजना रहेको उनले बताए । “मैले सुरु गरेका योजना अलपत्र पर्नु दुःखद कुरा हो, अब ती सबै योजना पूरा गर्ने जिम्मेवारीका साथ चुनावी मैदानमा आएको छु,” उनले भने ।
चुनावी अभियानका क्रममा मतदाताबाट उल्लेख्य समर्थन पाएको उनको भनाइ छ । मतदाताले विकासका लागि आफूलाई साथ दिने विश्वास व्यक्त गरेको उनले बताए। “जनताको अपार माया, साथ र विश्वासले मलाई थप जिम्मेवार बनाएको छ। बलियो संगठन र जनसमर्थनका आधारमा जित सुनिश्चित छ भन्ने विश्वास लिएको छु,” बोगटीले भने ।

उनले नेकपा एमाले सधैं जनताको पक्षमा उभिएको पार्टी भएको उल्लेख गर्दै जनताको दुःख–सुखमा साथ दिने परम्परा कायम राख्दै आएको बताए। विकास निर्माण, सुशासन र समृद्धिका लागि एमाले प्रतिबद्ध रहेको उनको भनाइ छ ।
दूरदराजका बस्तीमा पुग्दा मतदाताले विगतमा अपेक्षाअनुसार विकास हुन नसकेको गुनासो गरेको र अब विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताएका उनले सुनाए । जनताले विकास र समृद्धिका लागि एमालेप्रति भरोसा व्यक्त गरेको उनको दाबी छ ।
को हुन् यज्ञ बोगटी ?
यज्ञ बोगटीले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। उनी २०५० सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य बनेका थिए भने २०५१ मा संयोजक र २०५३ मा केन्द्रीय सदस्य बने । २०५४ मा एमाले जिल्ला कमिटी सदस्य, २०५९ मा क्षेत्रीय संयोजक तथा २०६४ र २०६९ मा जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हालेका थिए ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवारलाई २ हजार ८५९ मतान्तरले पराजित गर्दै सांसद बनेका थिए। २०७९ को निर्वाचनमा भने गठबन्धनका कारण पराजित भएका उनी यसपटक पुनः जनमत लिन चुनावी मैदानमा उत्रिएका छन् ।
अछाम–२ मा यसपटक ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। चुनावी प्रतिस्पर्धा रोचक बन्दै जाँदा यज्ञ बोगटीले भने बलियो संगठन र जनताको समर्थनका आधारमा आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् ।
