

महेन्द्रनगर । बैतडीको डिलासैनी गाउँपालिकामा बुधबार राति पौने ८ बजे नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भयो । डिलासैनी गाउँपालिका–७ मल्लालेक टोलमा भएको झडपमा दुबैतर्फका तीन जना घाइते भए। सोही ठाउँका जनक धामी, माधव धामी र लालसिंह धामी घाइते भएका थिए ।
घाइतेमध्ये जनक र माधव एमालेका कार्यकर्ता हुन् भने लालसिंह रास्वपाको डिलासैनी– ७ का वडा सभपाति हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार एमालेका दुई जना घाइते कार्यकर्ताको धनगढीमा उपचार भइरहेको छ भने ललितसिंहको बैतडीमा उपचार भइरहेको छ ।


‘चुनावको घरदैलो कार्यक्रमका क्रममा दुवै पक्षबीच झडप भएको खुलेको छ,घटनाको अनुसन्धानका लागि पाँच जनालाई नियन्त्रणमा लिएका छौँ । सोधपुछ भइरहेको छ,’ प्रहरी निरीक्षक सिंहले भने। प्रहरीका अनुसार पक्राउ परेका पाँचै जना रास्वपाका कार्यकर्ता हुन् ।
एमालेका भने कुनै पनि कार्यकर्तालाई पक्राउ गरिएको छैन । बैतडीमा एमालेबाट दामोदर भण्डारी र रास्वपाबाट हरिमोहन भण्डारी उम्मेदवार छन् । दुबै जना नाताले दाजुभाइ पर्ने पाटन नगरपालिको एकै गाउँका हुन् ।
उनीहरुको घर पाटन नगरपालिका वडा नम्बर ६ मा छ। दुबै भण्डारीको घर दुई मिनेटको दूरीमा छ । बुधबार रातिको झडपपछि भने एमाले र रास्वपा एकअर्कामाथि आरोपप्रत्यारोप लगाइरहेका छन् ।

