

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदाता हिरादेबी ठकुराठी विहान मत हाल्न पुगेकी थिइन् । ठकुराठी केन्द्र बाहिर मतदाता नामावलीमा आफ्नो नाम हेरी मत हाल्न लाइन बसिन् ।
लाइन पार गर्दै मतपत्र लिने बेला उनको नाममा अर्कैले मत हालि सकेको देखिएपछि उनी अक्क न बक्क भइन् ।
ठकुराठीको अनुहार अचानक मलिन भयो । उनले आफू मत हाल्न अहिले आएको बताउँदै आफ्नो कसले हालेको भनेर सोध्न थालिन् । ठकुराठीले आफ्नो मत अरुले हालेको खुलेपछि केही समय केन्द्रमा विवाद उब्जियो ।

ठकुराठी बिहान ११ बजे मतदान केन्द्र अघि पुग्न अघि नै उनको नाममा फर्जी मत हालेको पाइएको हो । उनका नाममा फर्जी मत हालि सकेको पाइएपछि ठकुराठी केन्द्रबाट फर्केर आइन् ।
दिउँसो ३ बजे फेरि ठकुराथिलाई मतदानका लागि घरबाटै बोलाएर ल्याएको स्वयमले बताइन् । घरबाट दोस्रो पटक मतदान गर्न आएकी ठकुराठीलाई फेरि पनि मतदान गर्न नदिएपछि मिनी मार्केट गेट नजिक पुगेकी उनलाई जिल्ला समन्वय प्रमुख दुर्गा दत्त बोहरा लगायतले सम्झाइ बुझाइ फेरि फर्काएर ल्याएका हुन् ।
उनलाई मतदान केन्द्र ग मा निमिँदा मतपत्रको प्रयोग गरी मतदानको सुविधा दिइएको हो ।

उक्त मत पत्र छुट्टै खाम बन्दी गरिने र उमेदवारको मत बराबर भएको खण्डमा मात्र खोलिने निर्वाचन ऐनमा उल्लेख भए अनुसार मतदानको सुविधा दिइएको मतदान केन्द्र ग का मतदान अधिकृत अनिरुद्र साउदले बताए ।
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्लाभर भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहेक अन्यत्र फर्जी मत परेको जानकारी बाहिर आएको छैन ।
कञ्चनपुरमा ५८ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ वटै निर्वाचन क्षेत्रमा १ लाख ८४ हजार ३१६ जनाले मतदान गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार क्षेत्र नं. १ मा ६१ हजार ७४ जनाले मतदान गरेका छन् । जुन कुल मतदाताको ६० दशमलव ४ प्रतिशत हो । उक्त क्षेत्रमा १ लाख १ हजार ७२४ मतदाता छन् ।
क्षेत्र नं. २ मा ६४ हजार ८८१ मत खसेको छ । जुन ५९ दशमलव २१ प्रतिशत हो । उक्त क्षेत्रमा १ लाख ९ हजार ५७४ मतदाता छन् ।
यसैगरी क्षेत्र नं. ३ मा ५८ हजार ३६१ मत खसेको छ । जुन ५८ दशमलव ६३ प्रतिशत हो । तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ३ लाख १४ हजार ३८५ मतदाता छन् ।

