

महेन्द्रनगर । गत भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशबारे छानबिन गरी पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
हिजो प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको सो प्रतिवेदनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतलाई कारबाही सिफारिस गरिएको चर्चा भइरहेको छ ।

यद्यपि, अध्ययन गर्ने भन्दै प्रतिवेदन ‘होल्ड’ गरिएको छ । यता, प्रतिवेदन सार्वजनिक नहुँदै सामाजिक सञ्जालमा अनेकौं अफवाह फैलाउन थालिएको छ ।

आयोगले प्रतिवेदनमा कारबाही सिफारिस गरेपछि तत्कालिन गृहमन्त्री रमेश लेखक विदेश भागेको भन्दै सञ्जालमा समाचार वा स्टाटसहरु पोष्ट गरिएको पाइन्छ ।
उपचारको बहानामा उनी सिंगापुर गएको समाचार सञ्जालमा भेटिन्छन् । लेखक नेपालमै रहेको पाइएको हो । उनले भने, ‘म काठमाडौंमै छु ।’
लेखकका पूर्व स्वकीय जनकराज भट्ट उनी काठमाडौंमा गएको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।
चुनाव प्रचारक्रममा गृहजिल्ला कन्चनपुरमा रहेका उनी २२ गते काठमाण्डौ फर्किएका थिए । उनले देश छाडेको अध्यागमनको समेत रेकर्डमा छैन ।
