

महेन्द्रनगर । कञ्चनपुरमा एक युवकले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् । धारिलो प्रहारबाट दिदी गम्भीर घाइते बनाएका छन् ।
दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोकका ५५ वर्षीय हरिप्रसाद श्रेष्ठले ७० वर्षीया कान्छी आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका हुन् ।


मङ्गलबार साँझ जमिन सम्बन्धी विवादका क्रममा श्रेष्ठले आमामाथि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।
प्रहरी उपरीक्षक खत्रीका अनुसार, श्रेष्ठले माइतीघरमा बस्दै आएकी ५० वर्षीया दिदी भगवतीदेवी माझीमाथि पनि खुकुरी प्रहार गरेका थिए । प्रहारबाट दाहिने हात र टाउकोमा गम्भीर चोट लागेकी माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार, आमाको हत्या गरी फरार रहेका श्रेष्ठको खोजी भइरहेको छ । घटनाबारे सोधपुछका लागि सोही क्षेत्रका एक स्थानीयलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

