

महेन्द्रनगर । बुधबार दिनभरि बेलडाँडी गाउँपालिकाका कर्मचारीले गाउँपालिकाबाट बेड, बिस्तार, ब्ल्याङ्केट लगायतका सुविधा लिएको भन्ने खबरले चर्चा पायो ।
‘मेरो बेल्डाँडी’ नामको फेसबुक पेजले गाउँपालिका कार्यालयमा बेड, बिस्तार, ब्ल्याङ्केट सहितको फोटो राख्दै यो खबर सार्वजनिक गरेको थियो । त्यसपछि यो कुराले चर्चा पाउन सुरु सुरु भयो ।

पेजले भिडियो सार्वजनिक गर्दै गाउँपालिकाका कर्मचारीहरूले जनताको करबाट नियम विपरीत बेड, बिस्तार, ब्ल्याङ्केट लगायतका सुविधा लिएको दाबी गरेको थियो ।
भिडियो आइसकेपछि यो खबरबारे बेलडाँडी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विकलाई बुझ्दा बेड, बिस्तार, ब्ल्याङ्केट कार्यालयमा पालिकाको बजेटबाट नभई पालिकाका कर्मचारीले ल्याएको बताए ।
उनले कार्यालय आउजाउ गर्न टाढा रहेका कर्मचारीहरूले नजिकै बस्नको लागी आफ्नै खर्चमा सरसामान ल्याएको स्पष्ट पारे ।
‘भिडियोमा भनेजस्तो कुरा यथार्थ होइन ,यसमा पालिकाको बजेट प्रयोग भएको छैन ‘विकले भने ‘टाढा घर भएका १,३ र ४ नम्बर वडाका प्राविधिकहरूले आफ्नै खर्चमा समान ल्याएका हुन ।’

उनले उनीहरूको बस्नको लागि वडा नम्बर ४ को नयाँ बनेको भवनमा व्यवस्था गरिएको समेत जानकारी दिए ।
‘कार्यालयमा कामको अत्यधिक चाप बढे छ । कर्मचारीहरूलाई कार्यालय समय अघि–पछि समेत काम गर्नुपर्ने अवस्था छ ।
उनीहरूलाई बस्न ४ नम्बरको भवन व्यवस्था गरिएको थियो । सोही अनुसार उनीहरूले आफ्नै खर्चमा ओढ्ने–ओछ्याउने ल्याएका हुन’ विकले भने ।
कर्मचारीहरूले ल्याएका सामग्रीहरू मोटरसाइकलमा ल्याउन असम्भव भएपछि पालिकाले गाडी पठाएको प्रमुख प्रशासकीय अधिकृत विकले बताए ।
समान कार्यालय पुगे लगत्तै गाडी गाउँ पालिका अध्यक्षले महेन्द्रनगर लग्नुपर्ने भएकोले कार्यालयमै खाली गरिएको उनको भनाई छ ।

