

महेन्द्रनगर । सुदूरपश्चिम सरकारले झण्डै एक वर्षपछि महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेको छ । गत वर्ष चैतमा समितिका अध्यक्ष कृष्णानन्द भट्टको कार्यालय सकिएपछि समिति नेतृत्व बिहीन थियो ।
सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयले महेश प्रसाद पन्तलाई अस्पताल अध्यक्षमा नियुक्त गरेको हो । पन्त एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य हुन् ।

एमाले जिल्ला कमिटी कञ्चनपुरले अध्यक्षका लागि पन्त सहित एमाले भीमदत्त नगर अध्यक्ष हिमाल चन्द र प्रशान्त भट्टको नाम सिफारिश गरेको थियो । अध्यक्ष सिफारिश भट्ट समिति सदस्य नियुक्त भएका छन् ।
प्रदेश सरकारका सत्ता साझेदार काँग्रेस एमालेले भागबण्डा टुङ्गो लगाएपछि महाकाली प्रादेशिक अस्पताल एमालेको भागमा परेको थियो ।

त्यस अनुसार एमाले कञ्चनपुरले अध्यक्षका लागि तीन जनाको नाम सिफारिश गरेको थियो ।
अस्पताल अध्यक्ष काँग्रेसको दाबी थियो । पूर्व गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र भएकाले काँग्रेसको भागमा पार्न अन्तिमसम्म प्रयास गरिएको थियो ।
काँग्रेसबाट इन्द्र साउँद समिति सदस्य भएका छन् । साउँद यस अघि भट्ट नेतृत्वको सदस्य थिए । काँग्रेसले साउँदलाई सदस्यमा निरन्तरता दिएको हो ।
समिति अध्यक्ष पन्त भीमदत्त नगरपालिका १८ का वासिन्दा हुन् । उनी २०७९ को स्थानीय निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयरमा चुनाव लडेका थिए ।
समितिका सदस्य भट्ट २०७४ मा भीनपा १८ का वडा सदस्य निर्वाचित भएका हुन् । भट्ट पनि भीनपा १८ का वासिन्दा हुन् ।
समितिमा पार्वती जोशी सदस्य नियुक्त भएका हुन् । उनी बेदकोट नगरपालिकाकी हुन् ।

