
पार्टी निर्णय विपरित नियुक्ति गरिएको भन्दै कञ्चनपुर एमाले अध्यक्ष बुढाले पोखिन महासचिव पोखरेलसित गुनासो


महेन्द्रनगर । पार्टी निर्णय अटेर गर्दै मनपरी नियुक्ति गरिएको भन्दै एमाले कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढाले महासचिव शंकर पोखरेललाई गुनासो पोखेकी छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी जिल्ला कमिटीको समवेदना पत्र बुझाउन काठमाडौ पुगेकी बुढाले पार्टी निर्णय विपरित नियुक्तिले पार्टी र नेता कार्यकर्ता असन्तुष्ट भएकाले निर्णय सच्याउन र एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र सिह रावललाई हटाउन महासचिव पोखेरलसित आग्रह गरिन् ।


महासचिव पोखरेलले संसदीय दलका नेता रावललाई पार्टीसित समन्वय गरी नियुक्ति लगायतका जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको बताए ।
एमाले कञ्चनपुरले जेठ २७ गते महाकाली अस्पताल सहित सुदूरपश्चिम खेलकूद विकास समिति र युवा परिषदमा नियुक्तिका लागि सिफारिश गरेको थियो ।
एमाले संसदीय दलका नेता रावलले जिल्लाको सिफारिश विपरित नियुक्त गरेपछि एमालेभित्र असन्तुष्टि चर्किएको छ ।
एमाले कञ्चनपुरले महाकाली अस्पताल अध्यक्षमा हिमाल चन्दको नाम सिफारिश गरेको थियो ।
