ghar sansar

बाल विकास सहयोगी कार्यकर्ताको मिलान अलपत्र छाडेर शैक्षिक सत्र सकिने बेला भीमदत्तका मेयरले गर्न थाले शिक्षक दरबन्दी मिलान

khasi

महेन्द्रनगर । बाल विकास सहयोगी कार्यकर्ता मिलान कार्य अधुरो छाडेर भीमदत्त नगरपालिकाले शैक्षिक सत्र सकिन लागेपछि शिक्षक दरबन्दी मिलान प्रक्रिया सुरु गरेको छ ।

बाल विकास सहयोगी कार्यकर्ता दरबन्दी मिलान गत शैक्षिक सत्रमा सुरु गरिएको थियो । बाल विकास सहयोगी कार्यकर्ता मिलानले नगरपालिकासित असन्तुष्टि बढेपछि अधुरो छाडिएको थियो ।

बाल विकास दरबन्दी मिलान छाडेपछि अहिले नयाँ शैक्षिक सत्रको पूर्व सन्ध्यामा बाल विकास सहित सबै शिक्षक दरबन्दी मिलान, विद्यालय स्तरोन्नति, आकार घटाउने र मर्ज गर्ने कार्यका लागि कार्य दल बनाएर कार्यक्रम थालिएको हो ।

भीमदत्तका मेयर पदम बोगटीले पूर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्टको नेतृत्वमा कार्यदल बनाएर दरबन्दी मिलान प्रक्रिया थालनी गरेका छन् ।

मेयर बोगटी भीमदत्तको नगर शिक्षा समितिका अध्यक्ष हुन् । नगर शिक्षा समितिको प्रस्तावमा फागुन अन्तिम साता नगर कार्यपालिका बैठकले शिक्षक दरबन्दी मिलान लगायतका कार्य गर्ने निर्णय गरेको थियो ।

कार्य पालिका बैठकले कार्य दलका संयोजक सहित सदस्य छान्ने अधिकार मेयर बोगटीलाई दिएको थियो । त्यस अनुसार बोगटीले भट्टको संयोजकत्वमा सात सदस्यीय कार्य दल बनाएका छन् । कार्य दलका शिक्षा विकास समन्वय इकाई सदस्य र नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत बाहेक सबै अवकाश पाएका शिक्षक कर्मचारी छन् ।

चैत ६ गते पूृर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्टको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएपछि समितिले मेयर बोगटी, उप मेयर निलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम सहित शिक्षा शाखाका प्रमुख लगायतसित बैठक गरी छलफल गरेको छ ।

कार्य दल सदस्यमा नारा जोशी, हरिराज विष्ट, नरेन्द्र सिह भण्डारी, लालमनी पाण्डेय, शिक्षा विकास तथा समन्वय इकाई सदस्य र भीमदत्तको शिक्षा, युवा तथा खेलकूद शाखाका शाखा अधिकृत दिपेन्द्र विष्ट सदस्य सचिव छन् ।

उनीहरुमध्ये विष्ट, पाण्डेय र जोशी बैजनाथ माविबाट अवकाश पाएका शिक्षक हुन् । भण्डारी काँग्रेसको शिक्षक संघका पदाधिकारी भइ सकेका भण्डारीले घटाल मावि सुडाबाट अवकाश पाएका हुन् ।

भीमदत्तले कार्यदललाई अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको समय दिएको छ । कार्य दलको अध्ययन समय थप घट गर्न सक्ने अधिकार दिइएको छ ।

भीमदत्तका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख उप सचिव हरिदत्त जोशीले कार्य दलको अध्ययन प्रतिवेदनका आधारमा शिक्षक दरबन्दी मिलान, विद्यालय मर्जर, स्तरोन्नति, घटाउने लगायत कार्य गरिने बताए ।

‘३० दिनको समय सीमा दिएर अध्ययन गर्न कार्य दललाई जिम्मा दिइएको छ, त्यसको प्रतिवेदका आधारमा नगरपालिका शिक्षा समितिले आवश्यक कार्य गर्छ’ उनले भने ।

dirghayi clinic

शाखा प्रमुख जोशीले कार्य दलले अध्ययन प्रतिवेदन तोकिएको समय सीमा भन्दा अघि वा पछि पनि हेरफेर गर्न सक्ने बताए ।

भीमदत्तमा यस अघि २०७८ मा शिक्षक दरबन्दी मिलान गरिएको थियो । शिक्षक दरबन्दी मिलान विरुद्ध काँग्रेसको शिक्षक संघले ३९ दिन तत्कालिन मेयर सुरेन्द्र विष्ट विरुद्ध नगरपालिका कार्यालयमा आन्दोलन गरेको थियो ।

तत्कालिन मेयर विष्टले नगर शिक्षा समितिबाट दरबन्दी मिलान गराएका थिए । अहिले मेयर बोगटी कार्य दल बनाएर दरबन्दी मिलानका लागि अघि बढेका छन् ।

यस अघि बाल विकास सहयोगी कार्यकर्ताको दरबन्दी मिलानमा शिक्षा शाखालाई जिम्मा दिइएको थियो ।

शिक्षा शाखा प्रमुख जोशीले शिक्षा ऐन, नियमावली, नगर शिक्षा ऐन र भीमदत्तको शिक्षक व्यवस्थापन कार्य विधि लगायतका ऐन कानुनका प्रावधान टेकेर शिक्षक दरबन्दी लगायतका कार्य गरिने बताए ।

‘शिक्षक दरबन्दी मिलान कार्य ऐन कानुन अनुसार हुन लागेको हो, यो स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्छ’ उनले भने,‘शिक्षा ऐन लगायतका प्रचलित ऐन कानुनका आधारमा दरबन्दी मिलान प्रक्रिया अघि बढ्छ ।’

भीमदत्त नगरपालिकामा दुई गुरुकुल सहित ५७ सामुदायिक विद्यालय छन् । शिक्षक दरबन्दी मिलानले नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम प्रभावित नहुने विश्वास नगरपालिकाले लिएको छ ।

‘बैशाख ६ गतेसम्म प्रतिवेदन आउँछ, विद्यालयमा भर्ना कार्यक्रम त्यसपछि मात्रै सुरु हुने हो, त्यसैले प्रभावित हुँदैन होला भन्ने आश गरेका छौ’ शिक्षा शाखा प्रमुख जोशीले भने ।

नगरपालिकाले दरबन्दी मिलान प्रक्रिया फागुन २१ गतेको चुनाव लगायतका कारण ढिलो हुन पुगेको जोशीको भनाई छ । चालु आर्थिक वर्षको भदौमा दरबन्दी मिलान सम्बन्धि छलफल थालिएको थियो ।

भीमदत्तमा बाल विकास र प्राथमिक तहमा विद्यार्थी संख्या अनुसार शिक्षक दरबन्दी छन् । निमावि र माध्यमिक तहमा विषयगत शिक्षकका केही दरबन्दी अपुग छन् ।

दरबन्दी मिलानपछि निमावि र माविको दरबन्दी समस्या हल हुने विश्वास लिइएको जोशीले बताए ।

‘अहिले कहीं विद्यार्थी संख्या बढी, त्यहाँ शिक्षक दरबन्दी कम छ, कही शिक्षक दरबन्दी बढी छ, त्यहाँ विद्यार्थी कम छन्, यसो हेर्दा पाउनेले नपाएको र नपाउनेले पाएको अवस्था छ’ उनले भने,‘यो मिलान क्रममा विद्यालय मर्ज, आकार घटाउने कार्यले पनि केही दरबन्दी पूर्ति गर्न सजिलो हुन्छ ।’

प्राथमिक, निमावि र मावि तहमा ५०÷५० र बाल विकासमा २० विद्यार्थी बराबर एक शिक्षक दरबन्दी हुने व्यवस्था छ ।

Himal dental
सम्बन्धित
Loading...