

महेन्द्रनगर । सुदूरपश्चिम सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले भीमदत्त नगरपालिका १३ बडैपुरथित सिद्धनाथ माध्यमिक विद्यालयको दुई कोठे भवन निर्माण शिलान्यास गरेका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बजेटमा भवन बनाउन लागिएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश दत्त भट्टको अध्यक्षता पूर्व मुख्यमन्त्री रावलको प्रमु्ख आतिथ्यमा कार्यक्रम गरी भवन शिलान्यास गरिएको छ ।

कार्यक्रममा भीमदत्त नगरपालिका १३ का वडा अध्यक्ष रामचन्द्र बोहरा, प्रदेश योजना तथा नीति आयोग सदस्य डा. हीरा चन्द,सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख भीम बहादुर बुढा, विद्यालयका प्रधानाध्यापक जनक बहादुर चन्द लगायत अभिभावक, शिक्षक, कर्मचारी, युवा क्लबका पदाधिकारी सहभागी भएका छन् ।

कार्यक्रममा पूर्व मुख्यमन्त्री रावलले भवन निर्माणबाट विद्यालयलाई गुणस्तरीय पठनपाठन गराउन सहयोग पुग्ने बताए । उनले आगामी दिनमा पनि विद्यालयको भौतिक सुधारमा प्रदेश सरकारबाट थप सहयोग गर्न पहल गर्ने उल्लेख गरे ।
छिटोछरितो गुणस्तरीय भवन निर्माण कार्यमा सबैको साथ सहयोगको अपेक्षा सहित विद्यालय परिवारलाई निरन्तर सल्लाह सुझाव र सहयोगका लागि अध्यक्ष भट्टले आग्रह गरे ।
भवन जीर्ण भएकोले दुई कोठे भवनले केही राहत मिल्ने र आगामी दिनमा पनि सबै तहका सरकारको सहयोग चाहिने उनको भनाई छ ।
वडा अध्यक्ष बोहराले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

