

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालका नव नियुक्त अध्यक्ष महेश प्रसाद पन्तले मंगलबार दिउँसो अस्पतालमा कार्यक्रम गरी पत्रकारहरुबाट अस्पताल सुधारका लागि सुझाव लिए ।
दुई साता अघि अध्यक्ष नियुक्त भएपछि अध्यक्ष पन्तले सुधारका लागि सुझाव लिन सरोकारवालासित छलफल थालेका छन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका पदाधिकारी र सदस्य सहित जिल्लास्थित विभिन्न मिडिया आवद्ध पत्रकारसित अस्पतालका समस्या र गुनासो सम्बन्धि छलफल र समाधानका लागि सुझाव लिएका छन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीले अस्पतालको वर्तमान अवस्था र चुनौती सम्बन्धि जानकारी गराएपछि खुला सत्रमा सहभागी पत्रकारहरुलाई धारणा राख्न दिइएको हो ।
पत्रकार मनोज भट्टको धारणाले कार्यक्रममा सहभागी सबैको ध्यान खिच्यो । पत्रकार भट्टले अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी नियुक्ति पहुँचका आधारमा नियुक्ति हुने भन्दै धारणा राखे ।
कर्मचारीहरु पहुँचका आधारमा नाता गोता, आफन्त, लोग्ने, स्वास्नी र गर्ल फ्रेन्ड लगायतका नियुक्ति हुने गरेको पत्रकार भट्टले कार्यक्रममा सुनाए ।
‘कर्मचारी राख्ने बेलामा पावरका आधारमा राखिन्छन्, नाता गोता बाहिरका हुँदैन, कसैका श्रीमति, छोरा छोरी, गर्ल फ्रेन्ड मात्रै राखिएका छन्, यसरी नियुक्त गरिनु हुँदैन’ भट्टले भने ।
उनले कार्यालय समयमा चिकित्सक अस्पतालमा भेट्न नसकिने, बीमा अनुसार सेवा पाउन नसकेको र विराम भर्नामा समेत पहुँचले काम गर्ने लगायतका समस्या सुनाए ।
पत्रकार भट्टले राखेको धारणामा कार्यक्रममा सहभागी समिति सदस्य इन्द्र साउँदले तत्काल जवाफ दिए ।
‘म यहाँ अघिल्लो कार्यकालदेखि सदस्य छु, अहिले पनि छु, हाम्रो कार्यकालमा एक जना कर्मचारी राखिएको छैन, हामी आएपछि होइन, त्यो भन्दा अघि नै राखिएका होलान् ।’
समितिका अध्यक्ष पन्त र प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जोशी यसबारे केही बोलेन ।
२०४३ मा ५० शैय्याको अस्पताल बनेपछि तोकिएका दरबन्दीका अनुसार जनशक्ति पनि हालसम्म पूर्ति हुन सकेको छैन ।
अस्पतालमा १८ विशेषज्ञ सहित चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी एक सय जनाको दरबन्दी छ । दरबन्दी अनुसार अस्पतालमा ५५ जना मात्रै कार्यरत छन् ।

अस्पतालमा दरबन्दीका सहित २ सय ५० जना कार्यरत छन् । दरबन्दी बाहेकका अन्य जनशक्ति अस्पताल विकास समिति र प्रदेश सरकारको करार सेवाबाट पूर्ति गरिएका छन् ।
विकास समिति र प्रदेश सरकारको करार सेवामा पहुँचका आधारमा आफन्तलाई जागिर लगाइएको आरोप लागेको हो ।
अस्पतालका मेसु जोशीले २०४३ को दरबन्दी अनुसार अस्पताल चलाउन पर्ने अवस्था भएकाले दरबन्दी संगठन सर्भेक्षण(ओएनएम) गरी छिटो जनशक्ति पूर्ति गर्न पर्ने बताए ।
समितिका अध्यक्ष पन्तले अध्यक्ष पन्तले अस्पताल सुधार र व्यवस्थित गरी नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने आफ्नो चाहना भएको कार्यक्रममा उल्लेख गरे ।
अस्पतालका असल कार्यबारे प्रचारप्रसार हुन नसकेकाले जनता भ्रममा परेर सेवा लिनबाट वञ्चित भएको उनको भनाई थियो ।
‘प्रचारप्रसार हुुन पथ्र्यो, जति हुनु पथ्र्यो, त्यति हुन सकेको छैन, अब हुनेछ’ उनले भने,‘यहाँ मेसु साप हुनु हुन्छ, हामी सबै मिलेर यो काम गर्नेछौ ।’
अस्पताल विकास समिति र अस्पताल प्रशासन दुबैले हरेक कमजोरी र गुनासा तत्काल समाधान हुने गरी अघि बढ्ने अध्यक्ष पन्तले बताए ।
पत्रकारले समिति र प्रशासनका सबै कमी कमजोर उजागर गर्न सक्ने उल्लेख गर्दै कहिलेकाँही सानातिना कुरा मिडियाबाट बाहिर आउँदा समस्या पर्ने धारणा पन्तले राखे ।
अध्यक्षको पदभार ग्रहणपछि सुधारका लागि सबै पक्षसित सुझाव लिदै आएको उल्लेख गर्दै उनले आफू विहानदेखि राति १० बजेसम्म अस्पतालमा हुने बताए ।
‘आज तपाईहरुसित कार्यक्रम छ, अस्पतालका चिकित्सक, नर्स, कर्मचारीसित छलफल गरिएको छ, म विहानदेखि राति ९÷१० बजेससम्म अस्पतालमै हुन्छु’ उनले भने ।
पदभार ग्रहणपछि गरिएको निर्णय कार्यान्वयनको चरणमा प्रवेश गरेको अध्यक्ष पन्तले उल्लेख गरे ।
अस्पतालका तीन स्थानमा सुझाव पेटिका राख्ने, अस्पताल हाताभित्रको एटिएम २४ सै घण्टा खुल्ला गर्ने र सरसफाई गर्ने कार्य व्यवस्थित बनाउने तीन निर्णय गरिएका थिए ।
सुझाव पेटिका राख्ने तयारी अन्तिम चरणमा पुगेको र एटिएमका लागि बैंकसित कुराकानी गरिएको उनले जानकारी दिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जोशीले तत्काल लागू गर्न सकिने सुझावलाई तत्काल कार्यान्वयनमा लैजाने र त्यस बाहेकको हकमा प्रक्रियामा थालनी गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
