

महेन्द्रनगर । जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको जिल्ला सरकारी वकिल कार्यालयले बयान लिएको छ। बुधबार लेखकको बयान भएको हो ।
उनीसँगै पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयानको तयारी भइरहेको छ ।

‘रमेश लेखकको बयान आज भएको छ,’जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख रामहरी शर्मा काफ्लेले भने,‘केपी ओलीको पनि बयान लिन तयारी गरिरहेका छौं ।’

हालसम्म प्राप्त प्रमाणका आधारमा लेखकको बयान सकिएको छ । थप विषय खुलेमा पछि फेरि सोधपुछ गरिने सरकारी वकिल कार्यालयका अधिकारी बताउँछन् ।
पूर्वप्रधानमन्त्री ओली भने अस्पतालमा भर्ना भएकाले कसरी बयान लिने भन्नेबारे तय भइसकेको छैन । कार्यालयमै बोलाएर बयान लिन सकिने÷नसकिने विषषमा छलफल भइरहेको स्रोत बताउँछ ।
ओली र लेखक दुवैमाथि ज्यानसम्बन्धि कसुरमा मुद्दा प्रहरीमा दर्ता भइसकेको छ । जेन–जी आन्दोलनसम्बन्धि जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूमाथि लापबाही गरेर ज्यान लिएको कसुरमा अनुसन्धान अघि बढेको हो। दुवै जनालाई प्रहरीले गत शनिबार बिहान घरबाटै पक्राउ गरेको थियो ।
जाँचबुझ आयोगलको प्रतिवेदनमा उल्लेख प्रमाणलाई नै मुख्य आधार बनाएर विस्तृत अनुसन्धान भइरहेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए ।
साभार : नयाँ पत्रिका
