

महेन्द्रनगर । के तपाई स्पोर्टस साइन्स पढ्ने आफ्नो सोच पूरा गर्न नसकेर चिन्तामा हुनु हुन्छ ? यदि हुनु हुन्छ भने अब चिन्ता लिनु पर्दैन । नयाँ शैक्षिक सत्रदेखि महेन्द्रनगरमै स्पोर्टस साइन्स पढ्ने सोच पूरा गर्न सक्नु हुनेछ ।
भीमदत्त नगरपालिका १८ कटानस्थित वेष्र्टन पब्लिक एकेडेमीले नयाँ शैक्षिक सत्र २०८३ देखि स्पोट्स साइन्स विषय पठनपाठन गराउन लागेको छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक वेष्टर्नमा स्पोर्टस साइन्स पढाउने तयारी गरिएको छ ।
विद्यालयका प्रिन्सिपल विवेकराज कलौनीले विद्यार्थीहरुलाई सानैदेखि खेलकूद क्षेत्रको अध्यापन गराउने उद्देश्यले नयाँ शैक्षिक सत्रदेखि स्पोर्टस साइन्स विषय पठनपाठन गर्न थालिएको बताए ।
‘विद्यार्थीहरुलाई यो विषय पढ्ने इच्छा हुन्छ, लक्ष्य पनि राखेको हुन्छ, त्यस कारण हामी विद्यार्थीहरुलाई सानैदेखि खेल खेल्ने, त्यसमा अध्यापन गराएर पेशेवर रुपमा खेल क्षेत्रमा संलग्न गराउन चाहन्छौ, यसै अवधारणा(कन्सेप्ट) का आधारमा यो नयाँ शैक्षिक सत्रदेखि सुदूरपश्चिममा पहिलो पटक स्पोर्टस साइन्स पठनपाठन हुन्छ’ प्रिन्सिपल कलौनीले भने ।
माध्यमिक तह कक्षा ९ देखि १२ सम्म स्पोर्टस साइन्स पढाउने तयारी छ । एसइई दिइ रहेका विद्यार्थी कक्षा ११ मा स्पोर्टस साइन्स विषय भर्ना हुन पाउने भएका छन् । कक्षा ९ र १० मा ऐच्छिक विषयका रुपमा पठनपाठन हुने प्रिन्सिपल कलौनीले बताए ।

विद्यालयले पठनपाठनका लागि स्पोर्टस ल्याब निर्माण कार्य अन्तिम चरणमा पुगाएको छ । अध्यापनका लागि प्रशिक्षकहरु छनौट गरि सकिएका छन् ।
‘कक्षा ९ र १० मा ऐच्छिक विषय हुन्छ, ११ र १२ मा छुट्टै संकायका रुपमा पठनपाठन हुन्छ’ उनले भने ।
खेलकूदमा इच्छुक एसइई उत्तीर्ण विद्यार्थीलाई नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना गरिने प्रिन्सिपल कलौनीले बताए । ‘स्पोर्टस साइन्स बाहेक विषय अरु जस्तै हुने छन्’ उनले भने ।
स्पोर्टस साइन्स पढेपछि विद्यार्थीले आफ्नो खेल जीवनलाई निरन्तरता दिन सक्ने प्रिन्सिप कलौनीले बताए ।
‘विविध कारणले कक्षा १२ पछि खेल जीवन अघि बढाउन सकिएको अवस्था छैन’ उनले भने, ‘अब यो अवस्था रहँदैन ।’
विद्यालयले हालसम्म कक्षा ११ र १२ मा शिक्षा, होटल मेनेजमेन्ट र जेनरल मेनेजमेन्ट संकायको पठनपाठन गर्दै आएको छ । नयाँ शैक्षिक सत्रदेखि स्पोर्टस साइन्स थपिएको हो ।
प्रिन्सिपल कलौनीले अन्य संकाय सरह स्पोर्टस साइन्स अध्ययनको शुल्क लाग्ने बताए ।

