

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नव नियुक्त अध्यक्ष महेश प्रसाद पन्तले अस्पताल सुधारका लागि सरोकारवालासित छलफल तीव्र बनाएका बेला कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिह महता संघीय सरकारको मन्त्रालयसित पहल गरेका छन् ।
अस्पताल साँसद महताको संसदीय निर्वाचन क्षेत्र पर्छ । साँसद महताले सामाजिक सञ्जालबाट अस्पतालको सेवा प्रवाह सुधारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसित पहल गरेको सार्वजनिक गरेका छन् ।

‘महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरको सेवा सुधारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक पहल गरेका छौ’ साँसद महताले भनेका छन् ।
महाकाली प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेश सरकार मातहत सञ्चालनमा छ । साँसद महताले असपताल सेवा प्रवाह सुधारका लागि ६ बुँदे प्रस्ताव लिएर मन्त्रालयमा छलफल गरेका हुन् ।
फागुन २१ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेका साँसद महताले चुनाव प्रचारमा अस्पताल सुधारको वाचा गरेका थिए ।
साँसद भएपछि उनी चुनावी वाचा पूरा गर्न थालेको पत्रकार डिल्लीराज पन्तले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
‘महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरको सेवा सुधारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक पहल कदमी स्वागत योग्य छ…। नागरिक वाचा पूरा गर्ने प्रयासमा कन्चनपुर क्षेत्र नं ३ का माननीय सांसद ज्ञानेन्द्र सिंह महता । पत्रकार पन्तले सामाजिक सञ्जालमा भनेका छन् ।
मन्त्रालयमा अस्पताल सुधारका लागि ६ बुँदे कार्यमा छलफल गरिएको छ । साँसद महताले मन्त्रालयमा पहिलो माग विशेषज्ञ जनशक्ति पूर्तिका लागि चिकित्सक पठाउनु पर्ने राखेका छन् ।
अस्पतालमा हाल विशेषज्ञ चिकित्सकका १३ दरबन्दी रिक्त छन् । २०४३ मा महाकाली अञ्चल अस्पताल स्तरोन्नति हँुदा कायम गरिएका दरबन्दीका आधारमा हालसम्म अस्पताल सञ्चालनमा छ । विशेषज्ञ चिकित्सक सहित एक सय दरबन्दीमा ४७ दरबन्दी रिक्त छन् ।
साँसद महताले सरकारी छात्रबृत्तिमा अध्ययन गरेका चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई सरकारी प्रावधान अनुसार अस्पतालमा पठाउनु पर्ने माग मन्त्रालयमा पुगाएका छन् ।

सरकारी छात्रबृत्तिमा चिकित्सा शिक्षा अध्ययन गरेका चिकित्सकले अनिवार्य रुपमा दुई वर्ष सेवा गर्न पर्ने प्रावधान छ । मन्त्रालयले उनीहरुलाई परिचालन अन्र्तगत पठाउने गरेको छ ।
अस्पतालमा छात्रा रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, स्नायु रोग विशेषज्ञ(न्यूरोलोजिष्ट), मानसिक रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, युरोलोजिष्ट र नाक, कान, घाँटी रोग विशेषज्ञ एक÷एक जना पठाउन माग राखिएको छ ।
त्यस बाहेक स्त्री रोग विशेषज्ञ, हाड जोर्नी रोग विशेषज्ञ, जनरल सर्जन, रेडियोलोजिष्ट र जनरल फिजिसियन दुई÷दुई पठाउने सम्बन्धि छलफलल गरिएको छ ।
अस्पतालका अन कल ड्युटी, नाइट र शिल्फ ड्युटीका चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवाश गृह बनाउनु पर्ने दोस्रो माग साँसद महताले राखेका छन् ।
साँसद महताले अस्पतालमा पूरानो दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी भएकाले बढ्दो सेवाग्राहीको चाप अनुसार सुदूरपश्चिम प्रदेश सरकारसित समन्वय गरी संगठन सर्भेक्षण गरी दरबन्दी थप गरी स्थायी चिकित्सक दरबन्दी पूरा गरिनु पर्नेमा जोड दिएका छन् ।
अस्पतालमा मातृ तथा शिशु स्वास्थ्य सेवा प्रवाहका लागि करोेडौ बजेट खर्च गरी निर्माण गरिएको मातृत्व (मेटरर्निटी) भवन हस्तान्तरणमा साँसद महताले छलफल गरेका छन् ।
संघ सरकारको बजेटमा निर्माण गरिएको भवनको अढाई करोड भुक्तानी हुन नसकेपछि हस्तान्तरण रोकिएको छ । गत असोजमा भवन निर्माण कार्य सकिएको थियो ।
साँसद महताले मन्त्रालयमा बजेट व्यवस्थापन गरी भवन हस्तान्तरण गर्न पर्न दबाव दिएका छन् ।
अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयसित आवद्ध गरी शिक्षण अस्पताल बनाउनु पर्ने र अस्पतालमा मृगौला विरामीको चाप अनुसार डायलोसिन मेसिन र जनशक्ति दुबै थप गरी सेवा प्रवाह प्रभावकारी बनाउनु पर्ने माग मन्त्रालयमा छलफल गरेका छन् ।
महाकाली प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीले केही दिन अस्पतालमा गरिएको कार्यक्रममा जनशक्ति पूर्ति, भवन हस्तान्तरण, डायलोसिस मेसि अपुग लगायतका समस्या अस्पतालमा भएको जानकारी गराएका थिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पन्तले अस्पताल सुधारका लागि सरोकारवालासित सबैसित छलफल थालेका छन् । अध्यक्ष पन्तले आइतबार उद्यमी व्यवसायीसित छलफल गरी सुझाव लिएका छन् ।


