

महेन्द्रनगर । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुला पुगेर झोलुङ्गे पुलको शिलान्यास गरेका छन् । उनले व्यास गाउँपालिका–२ दुम्लिङस्थित घट्टेखोलामा पुल निर्माणको औपचारिक सुरुवात गरेका हुन् ।
नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल निर्माणको चर्चा भइरहेका बेला सीमा नजिकैको घट्टेखोलामा पुल शिलान्यास गरिएको हो । साम्पाङको टोलीले श्रमदानमार्फत नै पुल निर्माण गर्ने योजना अघि सारेको जनाएको छ ।


व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीका अनुसार महाकाली नदीभन्दा केही सय मिटर टाढा रहेको आन्तरिक खोलामा पुल निर्माण गर्न लागिएको हो । उक्त स्थानमा यसअघि काठे पुल रहेको बताइएको छ ।
त्यस्तै, दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पनि नेपालकै आन्तरिक खोलामा पुल निर्माणको शिलान्यास गरिएको पुष्टि गरेका छन् ।
शिलान्यास कार्यक्रममा साम्पाङले आफू राजनीतिक उद्देश्यभन्दा माथि उठेर दार्चुलाबासीलाई राहत दिन पुल निर्माणमा जुटेको बताए ।
उनले समस्या समाधानका लागि आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । राईले महाकालीमा पुल निर्माण गर्ने भनेर प्रचार गरे पनि घट्टेखोलामा पुलको शिलान्याश निर्माण गरेका हुन् ।
