

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी–३ का बासिन्दा हरिकिसन रानाको हत्या भएको लामो समय बितिसक्दा पनि अनुसन्धानमा उल्लेखनीय प्रगति हुन नसकेको भन्दै उनका १८ वर्षीय छोरा भुवन रानाले न्यायको माग गरेका छन् ।
अनुसन्धान प्रक्रिया ढिलो भएकोप्रति असन्तुष्टि जनाउँदै भुवनले शुक्रबार धनगढीस्थित बोलन्या थली पुगेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । पीडित परिवारले घटनाको सत्यतथ्य छिटो सार्वजनिक गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

’बुवाको हत्याको न्याय कहिले पाइन्छ ?’ भन्ने प्रश्न उठाउँदै भुवनले राज्य संयन्त्रप्रति आक्रोश व्यक्त गरेका छन् । उनले अनुसन्धानलाई शीघ्र निष्कर्षमा पु¥याई पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरे ।

गत वैशाख ९ गते बिहान हरिकिसन राना मोटरसाइकलमा भारतको कलकत्ता जाने भन्दै घरबाट निस्किएका थिए । तर केही घण्टामै उनी बेलौरी नगरपालिका–१० शिवनगरस्थित मसानघाट नजिक जलेको अवस्थामा मृत फेला परे । उनी सवार मोटरसाइकलसमेत पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको थियो ।
प्रारम्भिक रूपमा दुर्घटना जस्तो देखिए पनि घटनाको प्रकृति शंकास्पद रहेको भन्दै परिवारले हत्या भएको दाबी गर्दै आएको छ । शरीर जलेको अवस्था र मोटरसाइकलको स्थितिले घटना रहस्यमय देखिएको उनीहरूको भनाइ छ ।
घटनापछि प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा तालिमप्राप्त कुकुरसहितको टोली खटिए पनि हालसम्म घटनाको यथार्थ कारण खुल्न सकेको छैन ।
यस निर्मम घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ भने दोषी पहिचान र कारबाहीको माग गर्दै प्रहरीमाथि दबाब बढ्दै गएको छ ।
