

महेन्द्रनगर । महाकाली महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश प्रसाद पन्तले चैत ८ गते पदभार ग्रहण गर्दै खल्तीमा एक रुपैँया नहुने वासिन्दा सेवा सुविधाबाट वञ्चित नहुने घोषणा गरेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारले पदभार ग्रहणको दुई दिन अघि पन्तलाई अध्यक्ष बनाएको थियो । अध्यक्ष भएपछि पन्तले अस्पताल व्यवस्थापन समिति कार्य कक्षमा पदभार ग्रहण गरी सबै नागरिकलाई अस्पतालको सेवा पुगाउने प्रतिवद्धता गरेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा गरिएको घोषणा अनुसार अध्यक्ष पन्तले पैसा नहुने वासिन्दाको उपचार खर्च व्यवस्थापन गर्न थालेका छन् ।
नयाँ वर्षको पहिलो दिनबाट उपचार खर्च संकलन थालिएको छ । अध्यक्ष पन्तले उपचार खर्च जुटाउन अस्पतालमा दान पेटिका राखेका छन् । मंगलबारदेखि असपतालको आकस्मिक उपचार कक्ष र बहिरङ्ग विभाग (ओपिडी) मा दान पेटिका राखिएको हो ।

आकस्मिक उपचार कक्ष प्रवेशद्वारमा दान पेटिका राखिएको छ । अध्यक्ष पन्तले दान पेटिका उद्घाटन गरे ।
समितिका सदस्य, अस्पतालका चिकित्सक, कर्मचारी सहित सहभागी भए ।
अध्यक्ष पन्तले असपताल आएर समान्य खर्च समेत गरी उपचार गर्न नसक्ने अति गरीब वासिन्दाका लागि सहयोग जुटाउन दान पेटिका राखिएको बताए ।
‘खल्तीमा पैसा छैन, सानोतिनो उपचार, सेवा लिन पनि अस्पताल आएर फर्किन नपरोस भनेर यो दान पेटिका राखिएको हो’ अध्यक्ष पन्तले भने,‘अब कसैले पनि उपचार नगरी फर्किन पर्दैन, यसबाट सहयोग हुन्छ ।’
अस्पतालमा २५ रुपैँया तिरेर टिकट लिन नसक्ने लगायत अवस्था भएका वासिन्दालाई सहयोग गरिने अध्यक्ष पन्तले बताए ।
