

महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्यपालिका बैठकमा दोधारा चाँदनीमा क्रसर सञ्चालनको एजेण्डा पेश गरी छलफल गरिएको छ ।
एशियाली बिकास बैंक(एडीबी) को अनुदान सहयोगमा निर्माणाधिन सडकका लागि निर्माण सामाग्री उत्पादनका लागि क्रस सञ्चालन गर्न एजेण्डा पेश गरिएको बैठकमा सहभागीहरुले बताए ।

बिहीबार कार्यपालिका बैठकमा क्रसर सञ्चालन र शिक्षक दरबन्दी मिलान सम्बन्धि निर्णय गर्ने कार्य सूची कार्यपालिका सदस्यहरुलाई दिइएको थियो ।
दोधारा चाँदनीमा भमिदत्तले क्रसर सञ्चालनको प्रस्ताव लगेपछि बैठकमा सहभागी सदस्यहरुले आश्चर्य मान्दै विरोध गरेको सहभागीले बताए ।
‘यो दोधारा चाँदनी कार्यपालिकाले गर्न पर्ने काम हो, निर्णय हो, भीमदत्तले किन गर्न खोज्दैछ, बडो अचम्म लागेको छ’ बैठकमा सहभागी एक कार्यपालिका सदस्यले भने ।

भीमदत्तका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी सहित केही सदस्यले बैठकबाट निर्णय पारित गराउन अन्तिमसम्म जोडबल गरेको जानकारी बाहिर आएको छ ।
बैठकमा प्रस्ताव आएपछि छलफल गरिएको हो । छलफलमा केही सदस्यले कार्यपालिकाबाट अनैतिक काम गर्न नहुने भन्दै विरोध गरे ।
कार्यपालिका सदस्यहरुका अनुसार कार्यपालिका बैठकमा प्रस्ताव गरिएको क्रसर दोधारा चाँदनीका व्यवसायी धिर प्रकाश पाण्डेयको भएको जानकारी दिइएको छ ।
यस अघि यो क्रसर सञ्चालन गर्न दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले अन्तिमसम्म प्रयास गरेका थिए । लिम्बु आफैंले क्रसर सञ्चालनका लागि चाहिने स्थानीय तहको दुरी प्रमाणित सिफारिश गरेपछि उनी व्यापक विवादमा मुछिएका थिए ।
अहिले त्यहीं क्रसर सञ्चालन गर्न भीमदत्तका मेयर बोगटी कार्यपालिका बैठक लगेका हुन् । दोधारा चाँदनी नगरपालिका १ स्थित महाकाली नदी किनारमा क्रसर सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । यो क्रस विगतदेखि सोही स्थानमा सञ्चालन हुँदै आएको छ ।
यसबारे जानकारी लिन भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीसित सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
