
भीमदत्तको शिक्षा शाखाले दरबन्दी मिलानमा प्रधानाध्यापकसित पूरानो रिसिइबी साँध्न खोज्दा नमूना बनाउन सिफारिश जानकी कन्या बर्बाद हुने खतरा
गणित विषयका दरबन्दी शुन्य, रहेनन् ११ र १२ पढाउने शिक्षक पनि

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलान कार्य दलले जानकी कन्या माध्यमिक विद्यालयलाई प्रशासकीय भूमिका हेरफेर गरी नमूना विद्यालय बनाउन सिफारिश गरेको छ ।
पूर्र्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्ट नेतृत्वको कार्य दलले चैत ३० गते सिफारिश सहित नगरपालिकालाई प्रतिवेदन बुझाएको थियो ।
कार्य दलका सदस्यहरुका अनुसार सुदूरपश्चिममा छात्रा मात्रै पढ्ने जानकी कन्या एक मात्र विद्यालय भएकाले प्रशासकीय भूमिका हेरफेर गरी नमूना बनाउने सिफारिश गरिएको थियो ।

प्रशासकीय भूमिकालाई कार्य दलले प्रधानाध्यापक र शिक्षक सरुवा नभएर जानकी कन्यामा शिक्षक विद्यार्थी सबै महिला हुने आशय भएको कार्य दलका सदस्यहरु बताउँछन् ।
कार्य दलको सिफारिश विपरित नगरपालिकाले प्रधानाध्यापक अन्जुला भट्टलाई जेसिज मावि सरुवा गरि दिएको छ ।
प्रधानाध्यापक भट्ट गणित मावि शिक्षक हुन् । उनको स्थानमा जेसिज माविका विज्ञान विषयका शिक्षक बिमला बोगटीलाई जानकी कन्या ल्याइएको छ । जेसिजमा मावि विज्ञानको स्थायी दरबन्दी रिक्त गरिएको छ ।
जानकी कन्याका अर्का गणित शिक्षक कृष्ण सिह खत्रीलाई सरस्वती मावि परखेडी सरुवा गरिएको छ । पुरुष शिक्षक सरुवाका गर्ने कार्य दलको सिफारिश थियो ।
प्रधानाध्यापक भट्ट र शिक्षक खत्री दुबै सरुवा भएपछि जानकी कन्या गणित शिक्षक दरबन्दी बिहीन भएको छ । दरबन्दी मिलानपछि जानकी कन्या कक्षा ११ र १२ मा शिक्षक बिहिन बनेको छ ।
भीमदत्तले कक्षा ९–१२ को सामाजिक विषयको दरबन्दी कटौती गरी लक्ष्मी मावि बागफाँटा पठाइएको छ ।
सामाजिक विषयका शिक्षक उद्धव सिह ठगुन्नालाई पूर्णा मावि ऐरी सरुवा गरिएको छ । ठगुन्नालाई महेन्द्रनगर मावि साधारण स्कुल सरुवा गरी प्रधानाध्यापक बनाउने तयारी गरिएको थियो ।
ठगुन्नाले स्वास्थ्यका कारण देखाउँदै जिम्मेवारी पूरा गर्न नसक्ने असमर्थता देखाएपछि उनलाई पूर्णा मावि ऐरी पठाइएको छ ।
जानकी कन्याका अंग्रेजी विषयका शिक्षक दिपेन्द्र चन्दलाई लक्ष्मी मावि बागफाँटा पुल दरबन्दीमा लगिएको छ ।
चन्दसंगै विद्यालयका अर्का शिक्षक हेमराज भट्टलाई भीमदत्त नगरपालिका २ स्थित सरस्वती मावि उल्टाखाम लगिएको छ । भट्ट पनि पुल दरबन्दीमा लगिएका छन् ।
चन्द र भट्ट दुबैले शुक्रबार सरुवाप्रति असहमति जनाएर नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखामा निवेदन दिएका छन् ।
शिक्षा शाखामा भेटिएका शिक्षकहरुले राजनीतिक आस्था, मेयर उप मेयरससित सम्बन्ध, आफन्त, नातावाद लगायतका आधार बनाएर शिक्षक सरुवा गरिएको गुनासो गरे ।
शिक्षक चन्दले केही शिक्षकलाई छानी छानी सरुवा गर्ने निर्णयले मापदण्ड विना हचुवाका आधारमा गरिएको पुष्टि भएको बताए ।
‘यो सरुवा अनुभव, नीति, नियम, मापदण्डका आधारमा हुनु पथ्र्यो, सरुवा हुने हो भने नगरपालिका क्षेत्रका सबै शिक्षकको सरुवा हुनु पर्ने हो’ उनले भने ।

सरुवा मापदण्ड अनुसार सच्याएर हुनेमा आफू आशावादी हुने उनले बताए ।
जानकी कन्याका निमावि तहका शिक्षक विजयराज पन्त बैजनाथ मावि तिलकपुर सरुवा गरिएका छन् । शुक्रबार पन्तले सरुवामा असहमति जनाउँदै निवेदन दिए ।
पन्तलाई तिलकपुर पठाएर उनको स्थानमा भृकुटी माविबाट हरिप्रिया भट्टलाई ल्याइएको छ । भट्टको ठाउँमा महेन्द्रनगर माव कटानबाट अम्बादत्त जोशीलाई भृकुटी सरुवा गरिएको छ ।
पन्तले आफूलाई जबरजस्ती तिलकपुर पठाइएको बताए । भृकुटीबाट सरुवा भएर आएका शिक्षकका स्थानमा पनि पन्तलाई पठाउन सकिने हुँदा हुँदै तिलकपुर पठाइएको छ ।
‘यो मिलान नीति, विधि अनुसार हुनु पथ्र्यो, दरबन्दी नकाटिने स्कुलमा मलाई किन पठाउनु प¥यो’ उनले भने ।
शिक्षकहरुले दरबन्दी मिलान कार्य दल राजनीतिक पार्टी आवद्ध पूर्व कर्मचारी र शिक्षकहरुको भएकाले राजनीतिक आस्थाका आधारमा सरुवा गरिएको उनीहरु बताउँछन् ।
जानकी कन्यामा यस शैक्षिक सत्रमा कक्षा ११ मा ३७ र १२ मा १५ जना छन् । साविक उमावि दरबन्दीका दुबै शिक्षक सरुवा भएपछि पठनपाठन बन्द हुन सक्ने शिक्षकहरु बताउँछन् ।
प्रधानाध्यापक भट्टसित शिक्षा शाखाका कर्मचारीले पूरानो रिसिइबी फेरेर राजीपुर पठाएको बताइन्छ ।
तीन वर्ष अघि प्रधानाध्यापक भट्टको बढुवा रोक्न शिक्षा शाखाका कर्मचारीले भट्टको कार्य सम्पादन मूल्याङ्कन केरमेट गरी भरि दिएका थिए ।
भट्ट मावि तृतीय श्रेणीका शिक्षक हुन् । कार्य सम्पादन मूल्याङ्कन केरमेट गरिएपछि भट्ट र शाखाका कर्मचारीबीच भनाभन भएको थियो ।
भट्टले उनीहरु प्रशासकीय अदालतमा मुद्दा हालेकी थिइन् । अहिले मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । सर्वोच्चबाट फैसला आएर शिक्षा कर्मचारीको जागिर समेत जान सक्ने बताइन्छ ।
प्रधानाध्यापक भट्टले भने आफूलाई किन राजीपुर सरुवा गरिएको हो भन्ने थाहा नभएको बताइन् ।
‘मसित पहिला अलि विवाद त भएको हो, अहिले सरुवामा त्यस्तो नहोला, मुद्दा सर्वोच्चमा छ, तर सरुवा चाहि गरिएको छ, के रहेछ, मलाई पनि थाह छैन ।’
भीमदत्तका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले नगर शिक्षा समितिले दरबन्दी मिलान गरेको बताए ।
भीमदत्तका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले नगर शिक्षा समितिले दरबन्दी मिलान गरेको बताए ।
‘पहिला पनि गरिएको हो, अहिले पनि गरिएको छ, पहिला जसरी गरिएको थियो, अहिले त्यसरी नै गरिएको होला’ उनले भने ।
यस अघि २०७७ मा तत्कालिन मेयर सुरेन्द्र विष्टको कार्यकालमा डेढ सय बढी शिक्षक सरुवा गरी दरबन्दी मिलान गरिएको थियो । दरबन्दी मिलान विरुद्ध काँग्रेस सम्बन्ध शिक्षक संघले ४० दिन नगरपालिकामा आन्दोलन गरेको थियो ।
आन्दोलनमा सक्रिय संघका नेता लालमनी पाण्डेय सहित पूर्व शिक्षक कार्य दलका सदस्य थिए ।
