

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानमा सिद्धनाथ माध्यमिक विद्यालय ब्रह्मदेबका शिक्षक गोदावरी जोशी बैजनाथ माविमा कामकाजका लागि राखिएकी छन् ।
प्राथमिक तहका शिक्षक जोशी विद्यालयमा माथिल्ला कक्षामा समेत पढाउँदै आएकी थिइन् । जोशीलाई बैजनाथमा कामकाजका लागि राखिए पनि उनको स्थानमा अर्को शिक्षक पठाइएको छैन ।

शिक्षकलाई कामकाजमा राखेर अर्को शिक्षक नपठाएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रमानन्द जोशी र प्रधानाध्यापक उद्धब बहादुर चन्दले शिक्षा शाखामा आएर निर्णय सच्याउन निवेदन दिएका छन् ।
व्यवस्थापन समिति अध्यक्ष जोशी र प्रधानाध्यापक चन्द दुबैले शिक्षक जोशीको कामकाज शब्दले आफूहरु अचम्ममा परेको बताए ।
प्रधानाध्यापक चन्दले आफूले शिक्षण कार्यकालको ३० वर्षे अवधिमा पहिलो पटक कामकाज शब्द प्रयोग भएको देखेको बताए ।
‘शिक्षक सरुवा गरिएको भए पनि केही थिएन, कामकाज भनेर अर्को ठाउँमा पठाइएको छ’ उनले भने, ‘यो नयाँ नियम हो, मैले आजसम्म मेरो ३० वर्षे सेवा अवधिमा कहिले पनि सुनेको छैन ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोशीले विद्यालयका शिक्षकलाई कामकाज गर्ने भनेर अन्यत्र पठाएपछि अर्को शिक्षक पठाउनु पर्ने बताए ।
‘हाम्रा शिक्षकलाई अन्यत्र पठाइ सकेपछि नयाँ शिक्षक पठाउनु पर्ने हो’ उनले भने,‘तर कसैलाई पनि पठाएको छैन ।’
विद्यालयले निर्णय सच्याउन नगरपालिकाका कार्यालयमा निवेदन दिएको जोशीले बताए ।

‘हाम्रो विद्यालय गाउँ घरको दुर्गम क्षेत्रको हो, गरीबका छोरा छोरी पढ्छन्, विद्यालयलाई प्राथमिकता दिनु पर्ने हो’ उनले भने ।
विद्यालयमा हाल चार सय बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले शिक्षक दरबन्दी थप्न माग गर्दै आएको थियो ।
‘हामीसित दरबन्दी छैन, विद्यार्थी पनि छन्, विगतदेखि माग गर्दै आएको छौ’ अध्यक्ष जोशीले भने ।
विद्यालयमा मावि र निमाविमा विषयगत दरबन्दी अभाव छ । माविमा सामाजिक र नेपाली तथा निमाविमा गणित र विज्ञान विषयको दरबन्दी थप्न माग हुँदै आएको छ ।
भीमदत्तको शिक्षक दरबन्दी मिलान कार्य दलले विद्यार्थी संख्या भएको विद्यालयको सूचीमा राखेको छ ।
विद्यार्थी संख्या भए पनि नगरपालिकाले निमावि तहमा एक शिक्षक पठाएर प्राविका शिक्षक जोशीलाई कामकाजमा अन्त्रय लगेको छ ।
‘एक जना पठाएको छ, अर्कोलाई कामकाजका लागि अन्यत्र लगिएपछि विद्यालयलाई केही भएन’ अध्यक्ष जोशीले भने ।
भीमदत्त नगरपालिकाले विद्यालयमाथि अन्याय गर्नु पर्ने कुनै कारण नभएको जोशीले बताए ।
भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले कामकाज भनेको काजमा पठाए सरह भएको बताए ।
‘यो काजमा पठाएको जस्तो हो, भोलि जुन विद्यालयमा विद्यार्थी संख्या हुन्छ, त्यहीं पठाउँछौ’ उनले भने ।
भीमदत्तले पूर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्टको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । कार्य दलले चैत ३० गते अध्ययन प्रतिवेदन बुझाएको थियो ।
