

धनगढी । लामाे समयदेखि नेकपा एमालेमा कृयाशिल विभिन्न पदमा रहेर महत्वपुर्ण भुमिमा रहदै आएका युवा नेता मदनराज रेग्मीले देशको वर्तमान राजनीतिक अवस्था, न्यायपालिका र पार्टी संस्कारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले सत्ता सञ्चालनमा विधि र संस्थागत मर्यादाभन्दा शक्ति केन्द्रित प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका हुन्।
रेग्मीले १०० दिन नपुग्दै सरकारले विधिभन्दा माथि उभिन खोजेको संकेत स्पष्ट देखिएको बताएका छन्। राजनीतिक नियुक्तिको आवरणमा गरिएको प्रधान न्यायाधीश नियुक्तिलाई उनले केवल प्रशासनिक निर्णय नभई संस्थामाथिको राजनीतिक हस्तक्षेप र सर्वसत्तावादी सोचको खतरनाक संकेतको रूपमा व्याख्या गरेका छन्।
वरिष्ठता, विधि र संस्थागत मर्यादालाई बेवास्ता गर्दै गरिएको कनिष्ठ नियुक्तिमा न्यायिक आवश्यकता भन्दा राजनीतिक स्वार्थ हाबी भएको उनको आरोप छ।

त्यस्तै, एमाले पार्टी कार्यालय खाली गर्ने निर्णयले आफूलाई गहिरो आत्मस्मरण गराएको उनले उल्लेख गरेका छन्। उनका अनुसार बल्खुस्थित रातो घर केवल इँटा र सिमेन्टको संरचना नभई मदन भण्डारी र मनमोहन अधिकारी ले स्थापित गरेको विधि, विचार, संगठनात्मक अनुशासन र सामूहिक नेतृत्वको जीवित प्रतीक थियो।
रेग्मीले भूकम्पपछि पार्टीभित्रको विधि, संस्कार र संगठनात्मक आत्मा क्रमशः कमजोर बन्दै गएको टिप्पणी गरेका छन्। च्यासल शक्ति प्रदर्शन, व्यक्तिपूजा र प्रचारमुखी संस्कृतिको प्रतीक बन्दै गएको भन्दै उनले सिद्धान्तभन्दा पहुँच, योगदानभन्दा चाकडी र संघर्षभन्दा प्रचारलाई प्राथमिकता दिइन थालेको आरोप लगाए।
उनले फरक मतलाई दुश्मनी ठान्ने, सहयोद्धामाथि अन्याय हुँदा मौन बस्ने र संगठनलाई व्यक्तिको छायामा सीमित गर्ने प्रवृत्तिले एमालेको मूल आत्मामाथि नै चोट पुगेको बताएका छन्।
अब आवश्यकता नयाँ भवनको मात्र नभई नयाँ आत्मबोधको रहेको उल्लेख गर्दै रेग्मीले भत्किएको बल्खुसँगै कमजोर बनेको संगठनात्मक विश्वास, विधि र नैतिक उचाइ पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन्।
उनले एमाले फेरि जनताको आशा बन्ने हो भने जनताको पीडा सुन्ने, विधिलाई सम्मान गर्ने, सामूहिक नेतृत्वलाई स्वीकार गर्ने र सिद्धान्तलाई व्यवहारमा उतार्ने साहस आवश्यक रहेको बताएका छन्।
“आउनुहोस्, आत्मसमीक्षा गरौँ। व्यक्तिपूजाबाट संगठनवादतर्फ फर्कौँ। शक्ति प्रदर्शनबाट जनविश्वासतर्फ फर्कौँ,” उनले भनेका छन्।
रेग्मीले आगामी एक वर्ष एमालेका लागि ऐतिहासिक अवसर र चुनौती दुवै भएको उल्लेख गर्दै पार्टीलाई पुनः आम जनताको भरोसाको केन्द्र बनाउन नेतृत्व गम्भीर बन्नुपर्ने बताएका छन् ।
