
साधारण स्कुलमा बढ्दै ए प्लस उत्तीर्ण, यस वर्ष ४४ विद्यार्थीको ए प्लस, आरोही ऐडीको सबैभन्दा उच्च जीपीए

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल) का एसईई परीक्षामा ए प्लस उत्तीर्ण विद्यार्थी बढेका छन् । तीन वर्षदेखि साधारण स्कुलमा ए प्लस उत्तीर्ण विद्यार्थी संख्या बढ्दै आएकोमा यस वर्ष पनि बढ्ने क्रमले निरन्तरता पाएको छ ।
यस वर्ष साधारण स्कुलका ४४ विद्यार्थी ए प्लस ग्रेड ल्याएर उत्तीर्ण भएका छन् । उनीहरुमा आरोही ऐडीले सबैभन्दा बढी ३ दशमलव ९५ जीपीए ल्याएकी छन् ।
गत वर्ष साधारणका ३० विद्यार्थीको ए प्लस थियो । अघिल्लो शैक्षिक सत्रमा २६ जना ए प्लस ल्याएर उत्तीर्ण भएका थिए ।
साधारणका ७० जना ए र ६७ जना बी प्लस ल्याएर उत्तीर्ण भएका छन् ।
विद्यालयका प्रधानाध्यापक देबराज भट्टले परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताए ।
साधारण स्कुल नमूना विद्यालय हो । सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी भएको साधारण स्कुलबाट २ सय ८१ विद्यार्थीले परीक्षा दिएका थिए ।
गत वर्ष २ सय ९२ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । साधारण स्कुल अंग्रेजी माध्यममा पढाई हुने सामुदायिक विद्यालय हो ।
विद्यालयका प्रधानाध्यापक भट्टले समग्रमा एसईई नतिजा सन्तोसजनक भएको बताए ।

‘ए प्लस उत्तीर्ण हुने विद्यार्थी बढेका छन्, समग्रमा ७० प्रतिशत नतिजा छ, यो गत वर्षकै हाराहारी हो’ उनले भने,‘यसबाट विद्यालयको सिकाई उपलब्धि सन्तोसजनक भई रहेको भन्ने देखिन्छ ।’
एसईई नतिजा सुधारका लागि विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन, केही दिन नमूना प्रश्न पत्र बनाएर तयारी गरिएको र बर्षे विदाका दिन पनि पठनपाठन गरिएको प्रधानाध्यापक भट्टले बताए ।
बिद्यालयका विहान ७ देखि १० बजेसम्म अतिरिक्त कक्षा सञ्चालन गरिएका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टले अपेक्षा गरेजस्तो नतिजा पूर्ण रूपमा आउन नसके पनि सुदूरपश्चिम प्रदेशकै सामुदायिक विद्यालयतर्फ महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल) ले आफ्नो उत्कृष्ट शैक्षिक पहिचान कायम राख्न सफल भएको बताए ।
‘यो उपलब्धिका लागि अहोरात्र खटिनुहुने आदरणीय प्रधानाध्यापकज्यू,सहायक प्रधानाध्यापक ज्यूहरु तहगत संयोजक ,सह– संयोजक तथा सम्पूर्ण सर÷म्याडमहरू, कर्मचारी, अभिभावक तथा मेहनती विद्यार्थीहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ । सफलता केवल अंकमा सीमित हुँदैन; निरन्तर प्रयास, अनुशासन र आत्मविश्वासले नै भोलिको उज्ज्वल भविष्य निर्माण गर्छ । आगामी दिनमा अझ उत्कृष्ट नतिजासहित नयाँ इतिहास रच्ने विश्वासका साथ सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।’
यस वर्ष सबैभन्दा बढी उच्च जीपीए ल्याएकी आरोहीले ४ जीपीए ल्याउने अपेक्षा गरिएको थियो । ‘पढाईमा राम्रो बच्चा हो, फोर जीपीए नै आउँछ भनेर सोचेका थियौ’ उनले भने ।
साधारण स्कुलबाट आगामी वर्ष ३ सय २० विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
विद्यालयमा चालु शैक्षिक सत्रमा हाल तीन हजार विद्यार्थी भर्ना भएका छन् । कक्षा ९ मात्रै १ सय ७४ नयाँ विद्यार्थी थपिएका छन् ।

