

महेन्द्रनगर । २० वर्ष अघि अर्थात २०६३ मा भाडाको घरमा लिटिल बुद्ध एकेडेमीका नर्सरीदेखि ८ सम्मका कक्षा सञ्चालन गरिएका थिए । भीमदत्त नगरपालिका ४ भगतपुरस्थित जानकी कन्या माध्यमिक विद्यालय नजिक एमाले पार्टी कार्यालय भाडामा लिएर विद्यालय सञ्चालन गरिएको थियो ।
विद्यालय सात जनाको जनही एक लाख ५० हजार रुपैँयामा सञ्चालन गरिएको थियो । पहिलो वर्ष विद्यालयमा २ सय ८० विद्यार्थी भर्ना भएका थिए ।
दोस्रो वर्षमा कक्षा ९ र तेस्रोमा १० कक्षामा पठनपाठन गरिएको विद्यालयमा तेस्रोमा वर्षमा विद्यार्थी बढेर ६ सय पुग्यो । दोस्रो वर्ष विद्यार्थी संख्या ४ सय पुगेको थियो । विद्यालयले २०६९ देखि कक्षा ११ र १२ मा पठनपाठ सुरु गरेको थियो ।
अहिले २० वर्ष पुगेपछि विद्यालयले शैक्षिक, भौतिक र अतिरिक्त क्रियाकलाप सबैमा अनपेक्षित फड्को मारेको छ ।
अहिले विद्यालयमा एक सय जना सञ्चालक पुगेका छन् । विद्यालयसित गगनचुम्बी भवन बनेका छन् । विद्यार्थी संख्या तीन हजार पुगेको छ । विद्यार्थी संख्या सुुदूरपश्चिममा सबैभन्दा बढी हो ।
यस वर्षको एसईई परीक्षामा विद्यालयले एकै पटक दुई रेकर्ड बनाएर फेरि आफ्नो पहिचान फराकिलो बनाएको छ ।
एसईईमा विद्यालयमा दुई विद्यार्थीले ४ जीपीए ल्याएका छन् । एसईईको १८ औं ब्याचमा अनमोल चन्द र सशांक जोशीको ४ जीपीए छ । विद्यालयका सबैभन्दा बढी विद्यार्थीले सुदूरपश्चिममा ए प्लस ल्याएका छन् । सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण हुने विद्यालय पनि लिटिल बुद्ध बनेको छ ।
‘सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन्, सुदूरपश्चिममा सबैभन्दा ए प्लस ल्याउने विद्यार्थी पनि हाम्रै छन्’ प्रिन्सिपल श्याम सिह मौनीले भने ।
लिटिल बुद्धका ५५ जना ए प्लस ल्याएर उत्तीर्ण भएका छन् । लिटिल बुद्धपछि धनगढीको ऐश्वर्य विद्या निकेतनका ५५ जनाले ए प्लस ल्याएका छन् ।
विद्यालयका प्रिन्सिपल मौनीले विद्यालयको नतिजा सुरुदेखि राम्रो भएको र त्यसलाई हालसम्म निरन्तरता दिएको बताए ।
विद्यालयले एसईई दिने पढाईमा कमजोर विद्यार्थीलाई प्राथमिकता दिने गरेको छ । ती विद्यार्थी ४ देखि ६ महिनासम्म छात्राबास (होस्टिल) मा बसाएर शिक्षक निगरानीमा पठनपाठन गराउने गरिन्छ ।
विद्यार्थीलाई ६ महिना अतिरिक्त कक्षा सञ्चालन गर्ने र ती कक्षामा विद्यालय बाहिरका शिक्षकहरु पनि ल्याएर पढाउने गरिएको छ ।

विद्यालयका प्रिन्सिपल मौनी यस वर्ष एसईई दिने सबै विद्यार्थी लगनशिल भएको र ६ जनाको ४ जीपीए र ६० जनाको ए प्लस आउने अपेक्षा गरिएको बताउँछन् ।
उनीहरुमध्ये एक जना कम्प्युटर र अर्का अंग्रेजीमा ए प्लस नआएर ४ जीपीए चुम्न रोकिएका छन् ।
कम्युटरमा ए प्लस नआएर रोकिएका विद्यार्थी हुन् दिवाकर धामी । उनी कक्षा ९ बाट ४ जीपीए ल्याएर कक्षा १० मा पुगेका हुन् ।
अहिले ४ जीपीए ल्याउने चन्द र जोशी दुबै कक्षा ९ मा दोस्रो र तेस्रो भएका थिए ।
चन्द कक्षा १ र जोशीले कक्षा ९ देखि लिटिल बुद्ध पढेका हुन् । बेल्डाँडीका जोशी कक्षा ८ को पालिका स्तरीय परीक्षामा टप भएपछि कक्षा ९ मा लिटिल बुद्ध भर्ना भएका हुन् ।
जोशीका बुवा मेडिकल व्यवसायी हुन् । उनले महेन्द्रनगरमा विज्ञान विषय पढ्ने सोच बनाएका छन् ।
जोशी र चन्द दुबैको भविष्यमा आइटी पढ्ने लक्ष्य छ । चन्द काठमाडौं गएर पढ्ने तयारीमा छन् । चन्दका बुवा व्यवसायी हुन् ।
विद्यालयको एसईई नतिजा अपेक्षित भएको प्रिन्सिपल मौनीले बताए । ‘५÷६ पटक नै यस अघि पनि उत्कृष्ठ नतिजा ल्याई सकेका छौ, सुरुमा सबैभन्दा बढी ए प्लस पनि हामीले नै ल्याएका थियौ’ उनले भने ।
२०८३ को एसईईमा १४ जनाले ४ जीपीए ल्याउने प्रिन्सिपल मौनीको भनाई छ । अर्को वर्ष परीक्षामा तीन सय विद्यार्थी परीक्षामा सहभागी हुन सक्ने छन् ।
चार तले पक्की भवनका सबै कोठामा एसी र स्मार्ट बोर्ड जडान गरिएको छ । ती सबै स्मार्ट बोर्ड एआईमा आधारित छन् ।
विद्यालयमा दैनिक पाठ योजना अनुसार शिक्षण कार्य हुने गर्छ । विद्यालयमा पुस्तकालय, प्रयोगशाला, कम्प्यटुर प्रयोगशाला सबै सुविधा व्यवस्थापन गरिएका छन् ।
शिक्षण विधिमा प्रयोगात्मक कक्षा र प्रविधिसित जोड्ने कुरामा जोड दिइएको प्रिन्सिपल मौनीले बताए ।
विद्यालयले वर्षभरि विद्यार्थीहरुका लागि विभिन्न १५ विधामा तालिम सञ्चालन गर्दै आएको छ । त्यसमा फुटबल, भलिबल, क्रिकेट, नृत्य, गायन लगायतका छन् ।
समाजलाई बुद्धको बाटोमा लैजान बालबालिकालाई साना बुद्ध बनाउने लक्ष्य राखेर विद्यालय स्थापना गरिएको हो ।
