

भवानी भट्ट
महेन्द्रनगर । महेन्द्रनगरको शनिबार राति युवाहरुको सामूहिक कुटपिटबाट होटल संचालक घाइते भएका छन् । महेन्द्रनगरको गल्ली नम्बर ४ मा रहेको होटल ग्राण्ड प्यासिफिकमा शनिबार राति भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार तीन÷चार जनाको समूहले होटल सञ्चालकका भाईमाथि कुटपिट गरेको हो । होटल भीमदत्त नगरपालिका–२ उल्टाखामका किशोर चन्दले सञ्चालन गरिरहेका हुन् ।

उनका भाई गोविन्द चन्दमाथि एउटा समूहले कुटपिट गरेको जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले बताए ।
उनका अनुसार तीन÷चार जनाको समूहले चन्दसँगै होटलका कामदारमाथि कुटपिट गरेका हुन् । उनीहरुमध्ये केहीको पहिचान भइसकेको छ ।
कुटपिटबाट घाइते भएका चन्दलाई महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । ‘अहिले घटनामा संलग्नहरुको खोजी भइरहेको छ,’ प्रहरी निरीक्षक थापाले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार होटलमा पनि क्षति पुगेको छ ।

