

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा प्रसिद्ध “नक्टाबाबा कालेश्वर महादेव मन्दिरमा मनाइने गङ्गादशहरा पर्वको अवसरमा यहाँका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाले सोमबार सूचना जारी गर्दे जेष्ठ महिनाको शुक्ल पक्ष दशमी तिथिका दिन मनाइने गङ्गादशहरा पर्वको अवसरमा मङ्गलबार स्थानीय बिदा दिने निर्णय गरिएको जनाएका हुन् ।
दक्षिणी क्षेत्र भकुन्डा स्थित नक्टाबाटा (कालेश्वर) मन्दिरमा प्रत्येक वर्ष शुक्ल पक्ष दशमी तिथिका दिन यस क्षेत्रकै ऐतिहासिक गङ्गादशहरा पर्व मनाइँदै आएको छ ।
सोमबार बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाले सूचना जारी गर्दे मङ्गलबार पालिका अन्तरगतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था एवम् सङ्घ संस्थालाई एक दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेका छन् ।
बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले उक्त नक्टाबाबा क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गदैँ लैजाने उद्देश्यले यसको महत्वलाई समेत दृष्टिगत गरी एक दिन स्थानीय बिदा दिइएको बताए ।

बेलौरी–५, पुनर्वास १ तथा लालझाँडी–२ को सीमामा रहेको नक्टाबाबा कालेश्वर महादेव मन्दिरमा मनाइने पवित्र धार्मिक स्थल गङ्गादशहरा पर्वको अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट गरी दशौं हजार आस्थावानहरु दर्शनका लागि पुग्ने गरेका छन् ।
मेलामा व्यापारिक प्रयोजन, खानपानका परिकार तथा अन्य सांस्कृतिक वस्तुका गरी करिब चारसय बढी स्टल राखिएको कालेश्वर मन्दिर समितिका अध्यक्ष विश्राम रानाले बताए ।
त्यसैगरी, जिल्लाका तीन स्थानीयतहले अत्यधिक गर्मीका कारण विद्यालय एक साता बन्द रहने जनाएका छन् ।
शुक्लाफाँटा, भीमदत्त र कृष्णपुर नगरपालिकाले एक सूचना जारी गर्दे अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दे नगरपालिका अन्तरगतका सम्पूर्ण विद्यालयहरूमा जेठ १३ गते सम्म स्थानीय बिदा दिइएको उल्लेख छ ।त्यसै गरी, जेठ १४ गते बिहीबारका दिन बकर ईद तथा १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा रहने छ ।
त्यस पछि १६ र १७ गते दुई शनिबार र आइतबार लगातार बिदा छ । यो सँगै भीमदत्त, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विद्यालयमा एक साता सार्वजनिक बिदा हुने भएको हो ।
भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले लामो बिदाबाट कट्टी हुने गरी स्थानीय बिदा दिइएको बताए ।

