
कञ्चनपुर ३ मा अवस्थीलाई काँग्रेस क्रियाशिल अद्यावधिक जिम्मा दिएपछि देउवा पक्ष असन्तुष्ट
विधान विपरित आदेश गरिएको भन्दै मान्य नहुने चेतावनी


महेन्द्रनगर । नेपाली कांग्रेसले कञ्चनपुर ३ मा नेता पदमराज अवस्थीलाई क्रियाशिल सदस्यता अद्यावधिक जिम्मेवारी दिएपछि देउवा पक्षीय नेता असन्तुष्ट देखिएका छन् ।
देउवा पक्षका अवस्थी विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको काँग्रेसमा पुगेका छन् । उनी अहिले काँग्रेस कञ्चनपुर ३ मा पदेन उप सभापति भएका छन् । पदेन उप सभापतिको हैसियतमा अवस्थीलाई पार्टी क्रियाशिल सदस्यता अद्यावधिक गर्ने जिम्मेवारी दिइएको हो ।
अवस्थी पूर्व गृहमन्त्री रमेश लेखकका विश्वास पात्र हुन् । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको काँग्रेसलाई वैधानिकता दिएपछि उनी लेखक छाडेर गगन थापा काँग्रेसमा पुगेका छन् ।
अवस्थी भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष एबम् काँग्रेसका प्रवक्ता हुन् ।
अवस्थीलाई जिम्मेवारी दिएपछि देउवा पक्षीय काँग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय समिति पदाधिकारीले सार्वजनिक रुपमा असन्तुष्टि पोखेका छन् ।
क्षेत्रीय समिति सचिव उमेश जोशीले सामाजिक सञ्जालबाट कञ्चनपुर ३ का क्षेत्रीय सभापति केशब बहादुर चन्दको पार्टी विधान अनुसारको कार्यमा विराम लगाउन खोजिएको भन्दै निन्दा गरेका छन् ।
क्षेत्रीय सचिव जोशीले अवस्थीको नाममा गरिएको आदेश स्वीकार्य नहुने चेतावनी दिएका छन् ।


‘कञ्चनपुर ३ मा काँग्रेस पार्टी सदस्यता अद्यावधिक जिम्मेवारी अवस्थीलाई आज केन्द्रीय कार्य समितिको नाममा भन्दै कन्चनपुर निर्वाचन क्षेत्र नं ३ का सभापति केशव बहादुर चन्दकोे पूर्ण र्अधिकार तथा पार्टी विधान बमोजिम भएको कार्यलाई बिराम लगाउने कार्य जुन भएको छ, सो कार्य निन्दनीय छ । पदम राज अवस्थी कोे नाम मा भएको आदेश मान्य छैन, हेक्का रहोस । जय नेपाल’ जोशीले सामाजिक सञ्जालमा लेखेका छन् ।
काँग्रेस १४ औं महाधिवेशनबाट चन्द काँग्रेस कञ्चनपुर ३ को क्षेत्रीय सभापति निर्वाचित भएका हुन् । चन्दसंगै अवस्थी कञ्चनपुर ३ प्रदेश क्षेत्र नं. १ को सभापति निर्वाचित भएका थिए ।
चन्द र अवस्थी दुबै कञ्चनपुर काँग्रेसमा पूर्व गृहमन्त्री लेखक समूहका हुन् । काँग्रेस विशेष महाधिवेशन अघि कञ्चनपुर काँग्रेसमा तत्कालिन संस्थापन देउवाका दुई समूह थिए । ती दुई समूहको नेतृत्वको पूर्व गृहमन्त्री लेखक र पूर्व पर राष्ट्रमन्त्री एनपी साउँदले गर्दै आएका थिए ।
काँग्रेसले शनिबार धनगढीमा प्रदेश भेला गरेपछि देउवा पक्षीय सबै नेताहरु सहभागी भएका थिए । कञ्चनपुर काँग्रेस सभापति पदम बोगटीले महाधिवेशन गगन थापालाई देखाई दिने सार्वजनिक चेतावनी दिएका छन् ।
यस अघि काँग्रेस सभापति थापा आफैं आएर धनगढीमा भेला गरेका थिए । भेलालाई काँग्रेस प्रदेश सभापति बीर बहादुर बलायरले बहिस्कार गरेका थिए ।
देउवा पक्षको धनगढी भेलापछि काँग्रेस केन्द्रीय समितिले अवस्थीलाई सदस्यता अद्यावधिक गर्ने जिम्मेवारी दिएको हो ।
काँग्रेस विशेष महाधिवेशनमा कञ्चनपुर काँग्रेसका पूर्व सभापति हरि प्रसाद बोहरा, दिवाकर पाण्डेय, गोपाल गुरुङ्ग, सन्तोसी साउँद लगायत नेताहरु सहभागी भएका थिए ।
विशेष महाधिवेशनबाट साउँद केन्द्रीय सदस्य भएकी थिइन् । बोहरा फागुन २१ गते निर्वाचनमा कञ्चनपुर ३ बाट चुनाव लडेका थिए ।
