

महेन्द्रनगर । सरकारले शुक्रबार सार्वजनिक आगामी वर्षको बजेटमा सुदूरपश्चिमका तीन योजना बजेटमा समावेश भएका छन् । दोधारा चाँदनी सुख्खा बन्दरगाह, गेटा मेडिकल कलेज र धनगढी फाप्ला क्रिकेट स्टेडियम आगामी बजेटमा परेका छन् ।
दोधारा चाँदनीको सुख्खा बन्दरगाहमा दुई वर्षभित्रै एकीकृत जाँच चौकी निर्माण कार्य पूरा गर्ने उल्लेख गरिएको छ । भारतीय कम्पनीले गत वर्षदेखि सुख्खा बन्दरगाह निर्माण अघि बढाएको हो । भारतीय लगानीमा सुख्खा बन्दरगाह निर्माण हुन लागेको छ ।
गेटा मेडिकल कलेजमा यसै शैक्षिक सत्रदेखि एमबीबीएस सहित ४ बिधामा पढाई र धनगढी फाफ्ला स्टेडियमका लागि बजेट विनियोजन गरिएको छ ।
२०८३÷८४ को बजेटमार्फत फाप्ला परियोजनाका लागि बजेट विनियोजन गर्दै यसै वर्ष ठेक्का प्रक्रिया अघि बढाउने घोषणा गरेको हो । दुई हजार दर्शक क्षमताको इनडोर मल्टिपर्पस स्टेडियम निर्माण पनि सुरु गरिने र उक्त संरचना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारको छ ।
विगतदेखि बजेटमा समावेश हुँदै आएका कञ्चनपुरका ठूला योजना यस वर्ष बाहिर राखिएका छन् ।
दोधारा चाँदनी सुख्खा बन्दरगाहको पहुँच र चार लेन पुल बजेटमा समावेश गरिएको छैन । ठेकेदारसित भेरिएसन विवादपछि गत वर्षदेखि पुल र सडक निर्माण कार्य रोकिएको थियो ।
ठेकेदार कम्पनीले भेरिएसन नभएको भन्दै काम छाडेपछि केही दिन अघि सरकारले ठेक्का अन्त्य गरेको थियो ।

बजेटमा समावेश नभएपछि महाकाली पुल निर्माण कार्य अनिश्चित हुने सम्भावना बढेको छ ।
महाकाली सिँचाई आयोजना तेस्रो चरण, मझगाउँ विमानस्थल, महाकाली कोरिडोर र दैजी छेला औद्योगिक क्षेत्र बजेटमा समावेश गरिएका छैन् ।
अहिले बजेटमा समावेश नभएका योजनामध्ये महाकाली पुल र महाकाली सिँचाई प्राथमिकता नम्बर एक (पी वान) योजना हुन् ।
सरकारले पहिलो प्राथमिकताका योजना बजेटमा समावेश नगरेपछि सामाजिक सञ्जालबाट गुनासो गर्न थालिएको छ ।
छेला औद्योगिक क्षेत्रका केही दिन अघि मन्त्री गीता चौधरीलाई स्थलगत निरीक्षण गरी यस सञ्चालनका लागि बजेट विनियोजन गर्न आग्रह गरिएको थियो ।
सरकारले बिहीबार आगामी वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
यस अनुसार चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो ।
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारमा गीता चौधरी र प्रतिभा रावल मन्त्री छन् । उनीहरुमध्ये रावल कञ्चनपुर र चौधरी कञ्चनपुर २ का हुन् ।
फागुन २१ गतेको निर्वाचनमा कञ्चनपुरका ३ ओटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जितेको थियो ।

