
सुदूरपश्चिम सरकारमा काँग्रेसका नयाँ मन्त्री, दार्चुलाका धामी अर्थ र कञ्चनपुरका राना सामाजिक विकास मन्त्री


महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत नियुक्त भएका उनीहरूलाई मन्त्रालयको जिम्मेवारी समेत तोकिएको छ ।

नवनियुक्त मन्त्रीमध्ये बिक्रमसिंह धामीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । बेलबहादुर रानालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्री नियुक्त भएका छन् ।

यस्तै, जुना दानीलाई आर्थिक मामिला राज्यमन्त्री तथा मधु भारतीलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
काँग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि गरिएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । नयाँ मन्त्री र राज्यमन्त्रीको नियुक्तिसँगै सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको असन्तुष्ट पक्षले समेत प्रतिनिधित्व पाएको छ । मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकारको कामकारबाहीले थप गति लिने अपेक्षा गरिएको छ ।
