

महेन्द्रनगर । तपाईहरुलाई तालिम दियो, प्रोडक्ट मार्केट कसरी गरी राख्नु भएको छ पोल्ट्री गर्छु भन्नु भाछ, फिडिङ्ग कस्ट कसरी गर्नु भएको छ ?
गैर सरकारी संस्था पेसवान नेपालले बिहीबार पुनरुत्पादन कृषि प्रवद्र्धनका लागि विभिन्न सरोकारवाला निकायसँग गरेको सहकार्य तथा समन्वयात्मक बैठकमा दोधारा चाँदनी नगरपालिकाका प्राविधिक अशोक चन्द भीमदत्त नगरपालिका ३ तिलकपुरकी मन्जु धामीलाई प्रश्न सोधे ।

बैठकमा धामीले आफ्नो व्यवसाय सम्बन्धि अनुभव आदानप्रदान गरेपछि चन्दले सोधेको प्रश्न जवाफ यसरी दिइन् ।
संस्थाबाट तालिम लिएपछि हामी महिला दिदी बहिनीहरु तरकारी खेती गरि रहेका छौ, त्यसका लागि टनेल बनाइ सकेका छौ, संस्थाबाट बिऊ सहित प्राविधिक सहयोग पाएका छौ, म आफैं पनि केही गर्न चाहन्छु, आत्मनिर्भर बन्न चाहन्छु । उत्पादन गरी सकेपछि बजार खोज्छौ, व्यवसायिक रुपमा लाग्छौ ।’
गुरुधामीले अहिले थालिएको तरकारी खेती व्यवसायिक रुपमा विस्तार भएर घर परिवारको आर्थिक अवस्था बलियो हुने र त्यसले समाजमा समाजमा विद्यमान बाल विवाह घट्न सक्ने दाबी गरिन् ।
गुरुधामी अहिले बाल विवाह अन्त्यका लागि वडाका अन्य बालबालिकासंगै समूहमा आवद्ध भएकी छन् । बिहीबार उनी समूहका अन्य सदस्यसंगै बैठकमा सहभागी भएकी थिइन् ।
भमिदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र कृषि ज्ञान केन्द्रका प्रतिनिधि सहभागी कार्यक्रममा पुनरुत्पादन कृषिको महत्व, दिगो कृषि प्रणालीको विकास, माटोको उर्वराशक्ति संरक्षण, जैविक उत्पादन प्रवद्र्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका विषयमा छलफल गरिएको पेसवानका कार्य समिति सदस्य दमन चन्दले बताए ।

संस्थाका कार्यक्रम संयोजक गणेश बोहराका अनुसार भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका समूह आवद्ध ४६ किशोरी विभिन्न व्यवसाय गर्न अघि बढेका छन् ।
उनीहरु च्याउ खेती, बंगुर पालन, पोल्ट्री, तरकारी र मसला खेतीमा संलग्न भएका छन् । भीमदत्तका ११ महिलाले च्याउ खेती गर्न थालेका छन् ।
संस्थाको उत्थानिशल भविष्य बालविवाहको अन्त्य परियोजना अन्र्तगत १८ देखि २४ वर्षका महिलालाई उद्यमी बनाउन विभिन्न व्यवसाय सुरु गरिएको बोहराले बताए ।
‘वहाँहरुलाई उद्यमी नै बनाउने हो, समूहलाई दिगो बनाउन स्थानीय तहसम्म सहकार्य गरी दर्ताको प्रक्रिया अघि बढी सकेको छ’ बोहरा भन्छन्, ‘सम्बन्धित निकायसंगको सहकार्य कसरी बढाउने ? कसरी योजनासंग जोडिने भन्ने विषय वस्तुमा रहेर पनि यस्ता कार्यक्रम गर्छौ ।’
भीनपा ३ की गुरुधामीले संस्थाले विभिन्न तालिम र विभिन्न विउँविजन सहयोग पाएर तरकारी खेती गर्न थालेको र हालसम्म संस्थाबाट काक्रा, फर्सी, टमाटर, सिमला र टनेल सहयोग पाएको बताइन् ।
कार्यक्रममा सहभागीले रसायनिक मल तथा विषादीको अत्यधिक प्रयोगले कृषि उत्पादन प्रणालीमा दीर्घकालीन असर पारिरहेको उल्लेख गर्दै वातावरणमैत्री र दिगो कृषि प्रणालीको विकासका लागि पुनरुत्पादन कृषिलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
कृषि ज्ञान केन्द्रका प्राविधिकद्वय मनि नाथ, सत्यराज जोशी, भीमदत्तका मिना कार्की, कञ्चनपुर उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्ट लगायतले किसानहरुको आयस्तर वृद्धि, खाद्य सुरक्षा सुनिश्चितता तथा प्राकृतिक स्रोतहरूको संरक्षणका लागि समेत यस अवधारणाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पेसवानका उपाध्यक्ष पशुपति थापा महिलाहरु आफैंले टनेर बनाएर तरकारी खेती गरेको देख्दा आफूलाई खुसी लागेको बताइन् ।

