

महेन्द्रनगर । बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक महिला शनिवार बाघको आक्रमणमा परी घाइते भएकी छन् ।
शनिवार बेलुका करिब ५ बजे घाँस काट्न शुक्लाफाँटा जंगलमा गएकी धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् ।


घटनालगत्तै स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको थियो ।
माया मेट्रो अस्पतालका इन्चार्ज जगत महताका अनुसार घाइतेको अस्पतालमा आवश्यक परीक्षण तथा उपचार भइरहेको छ । विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको तथा स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन भइरहेको उनले जानकारी दिए ।
घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान तथा विवरण संकलन गरिरहेको जनाएको छ । साथै, जंगल क्षेत्रमा घाँस, दाउरा तथा अन्य वनजन्य सामग्री संकलन गर्न जाँदा आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ ।

