

महेन्द्रनगर । पूर्वाधार कार्यालय कैलालीमा धनगढी–५ शान्तिनगर टोलका महिलाहरूहरूले गालीगलौज र तोडफोड गरेको भन्दै पूर्वाधार विकास कार्यालयले जिल्ला प्रहरी ार्यालय कैलालीमा उजुरी दिएपछि दुबै पक्षबीच समझदारी भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा बिहीबार भएको छलफलमा बुधबार कार्यालय पुगेका महिलाहरूले आवेगमा आएर अपशब्द बोल्दै सूचनापाटी र सुझाव पेटिकामा तोडफोड हुन पुगेको स्वीकार गरेका हुन् ।

पूर्वाधार कार्यालय कैलालीका प्रमुख डिभिजनल इन्जिनियर दीपक नेगीले कार्यालयमा आएर तोडफोड गर्दै गालीगलौज गरेको भन्दै स्थानीय दुर्गा भट्टसहितका १०÷१२ जना महिलाको नाममा उजुरी दर्ता गरेका थिए ।

त्यसपछि भएको छलफलमा महिलाहरूले आफूहरूले गरेको कार्यमा गल्ती भएको स्वीकार गर्दै माफी मागेपछि मिलापत्र भएको डिभिजनल इन्जिनियर नेगीले बताए ।
महिलाहरूले अब उप्रान्त कुनै पनि सरकारी कार्यालयमा प्रवेश गरी उच्छृङ्खल क्रियाकलाप नगर्ने सहमति गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । महिलाहरूले आफूहरूको तर्फबाट गल्ती भएको स्वीकार गरेपछि दुबै पक्षबीच सहमति भएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि पूर्वाधार कार्यालय कैलालीले कार्यालयमा भएको तोडफोड र अराजक गतिविधिमा संलग्नउपर कारबाहीका लागि उजुरी दर्ता गरेको थियो ।
पूर्वाधार विकास कार्यालयले “सार्वजनिक सम्पत्तिको रुपमा रहेका सूचना पाटी, गुनासो पेटिका तथा फर्निचर÷कुर्सी जस्ता राज्यको सार्वजनिक सम्पत्ति तोडफोड गरी कर्मचारी उपर गाली–गलौज गरी मूल ढोकामा तालाबन्दी गरी कार्यालयको काममा अवरोध गरेको“ दाबी गरिएको थियो ।
