

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले नविकरण गर्ने उद्यमी व्यवसायीको बीमा रकम दोब्बर बनाएको छ । संघले गत वर्ष संघका सदस्यहरुको एक लाख रुपैँया बराबरको दुर्घटना बीमा गरेको थियो ।
दुर्घटना बीमा नविकरण गराउने सदस्यको यस वर्ष दुई लाखको बीमा गर्न लागिएको हो ।

संघले २ हजार एक सय २१ व्यवसायीको दुर्घटना बीमा गरेको छ । अहिले नविकरण गराउने बीमित सदस्यको बीमा एक लाख रकम थपिएको हो ।
संघका महासचिव राहुल भट्टले सामाजिक उत्तरदायित्व अन्र्तगत संघले गत वर्ष सदस्यको एक लाख रुपैँया बराबरको बीमा गरेको र यस वर्ष नविकरण गर्ने सबै सदस्यको बीमा एक लाख थप गरी दुई लाख बनाइएको जानकारी दिए ।
शिखर इन्स्यारेन्स कम्पनी लिमिटेडमा सबैको बीमा गरिएको छ । सदस्यलाई संघको अपनत्व महसुष गराउन बीमा गरिएको महासचिव भट्ट बताउँछन् ।

‘कुनै उद्यमी व्यवसायी दुर्घटना भई हाले तत्काल केही सहयोग होस भनेर बीमा गरिएको हो’ उनले भने, ‘मृत्यु वा घाइते भएमा बीमा रकम पाउँछन् ।’
संघका सदस्यको बीमा गरिएको यो पहिलो पटक हो । २०३९ मा संघ स्थापना भएको थियो ।
६ महिना अघि युवा व्यवसायी दिनेश मल्लको नेतृत्वमा १८ औं नयाँ समिति संघमा आएको थियो ।
संघको नयाँ समितिले आफ्नै कोषबाट सबै सदस्यको बीमा गरेको हो । संघले बीमा गरेको निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
संघको बीमाका लागि सदस्यता र नविकरण दर्ता अनिवार्य गरिएको छ ।
संघका कार्यकारी अधिकृत हेमराज भट्टले हाल संघमा दुई हजार दुई सय बढी उद्यमी व्यवसायी सदस्य भएको बताए ।
