

महेन्द्रनगर । महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ९ झाक्री टोलकी सम्झना धामी आइतबार साँझ छिमेकीको घर गएकी थिइन् । घरमा उनकी जेठानी, नन्द र छोराछोरी थिए ।
टिनले छाएको एक तले पक्की घर छ । दुई महिना अघि घर बनाए पछि उनी त्यहाँ बस्न थालेकी हुन् । त्यस अघि उनी पहाड र भारततिर बस्थिन । उनी श्रीमान लोकेश संगै भारत थिइन् ।

असार ३२ गते बिहीबार उनका श्रीमान लोकेश बिहानै घर आए । केही समय बसेर फर्कि हाले । खास केही कुरा हुन पाएन ।
‘केही भन्नु भएन, बरण्डामा बसेर गइ हाल्नु भो’ उनी भन्छिन् ।
श्रीमान घरबाट निस्केको केही घण्टापछि अपरिचित पाँच जना घर आए । उनीहरु सुनको कुरा गर्न थाले । सम्झना अक्क न बक्क भइन् ।
उनीहरु सुन कहाँ लुकएको छ भन्दै खोज्न थाले । घरभित्र तलासी गर्न थाले । घर भित्र र बाहिर सबैतिर उनीहरुले सोधी खोजी गरे ।
बिहीबार बिहान ९ र १० बजेको बिचमा अपरिचित व्यक्तिको समूह घरमा आएको थियो ।
बाजुराका रमेश रावत सहित पाँच जना घर गएको प्रहरीले पुष्टि गरेको छ । उनीहरु सबै बाजुराका हुन् । सुनको सोधीखोजी हुदै गर्दा एक जना घर नजिक आपको रुखमा चढ्छ । रुखबाट सुनका प्लाष्टिकमा राखिएका सुनका गर गहना सहित समान लिएर झर्छ ।
रुखबाट समान निकालेर घरमा ल्याइन्छ । केहीले रुख चढ्ने व्यक्ति समान लिएर भग्न खोजेको बताएका छन् । तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
यतिञ्जेल यो घट्नाबरे प्रहरी बेखबर रह्यो । रुखबाट सुन बाहिर ल्याएर छलफल भएपछि मात्रै अपरान्ह ४ बजे इलाका प्रहरी कार्यालयको टोली धामीको घरमा पुगेको थियो ।
प्रहरी पुग्न अघि ती गरगहना सम्बधित व्यक्तिलाई भिडियि कल गरी देखाइएको थियो ।
कालो प्लाष्टिकभित्र राखिएक गरगहना, घडी लगायत समान एक एक गरी देखाएको प्रत्यक्षदर्शीले बताए । ती समान रावत लगायतको समूहले देखाएको थियो ।
गहनाधनीले बाला बाहेक अन्य समान भएको बताएको धामी बताउँछिन् ।
गहना धनी भारतीय व्यवसायीसित उनीहरुले रेखा धामी र हिमाल धामीलाई छाड्न पर्ने शर्त राख्यो । रावत लगायतको समूहले गहना लैजाने भन्दै अडान लियो ।
दुबै पक्षको अडानले विवादको रुप लिएपछि केहीबेर माहौल अशान्त बन्न पुग्यो ।, त्यसपछि प्रहरीसम्म सूचना पुगेको थियो । सूचना पाएपछि प्रहरी टोली घर पुगेर रावत सहितका पाँच जना र गहना नियन्त्रणमा लियो ।
प्रहरीले सम्झना धामीलाई पनि कार्यालय बोलायो । धामी अटोमा बसेर इलाका पुगिन । प्रहरीले धामीलाई पनि पाच जनासंगै अनुसन्धानको दायरामा ल्यायो ।
यहींबीच गहना धनी इलाका प्रहरी कार्यालय पुगे । त्यसपछि प्रहरीले सबैलाई छाडि दियो ।
गहना धनी भारत पन्जाब लुधियाना राजपुरका कपडा व्यवसायी हुन् । उनको घरबाट एक महिन अघि गहन चोरी भएको खुलेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका इन्चार्ज प्रहरी निरीक्षक कृष्ण सोनीले बताए ।

गहना धनीले आफू र रेखा धामीले गहना खोजीका लागि रावत सहित पाच जनालाई पठाएको वताए पछि उनीहरुलाई छाडिएको प्रहरी बताउँछ ।
गहना धनीले गहना लग्न खोजे पनि कानुनी प्रक्रिया पूरा गर्न पर्ने भन्दै गहना इलाका प्रहरी कार्यालयमा राखिएको छ । गरगहना कति मूल्यको हो भन्ने अझैसम्म यकिन गरिएको छैन । गहनासंगै ६ घडी बरामद गरिएको प्रहरी बताउँछ ।
प्रहरीले गहना धनीलाई बिल बिजक पेश गर्न आग्रह गरेको छ ।
प्रहरीका अनुसार भारतीय कपडा व्यवसायी बिदेश घुम्न गएको बेला एक महिना अघि घरबाट चोरी गरिएका हुन् ।
गहना चोरी भएपछि बाजुराकी रेखा धामी र दोधारा चादनीका हिमाल धामी भारतीय प्रहरीको नियन्त्रणमा छन् । रेखा गहना धनी भारतीय व्यवसायीको घरमा तीन बर्षदेखि काम गर्दै आएकी छन् ।
हिमाल लोकेशका दाई हुन् । धामीको घरबाट गहना फिर्ता लैजान आएको समूहका रावत रेखाका भिनाजु भएको खुलेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी अनुसन्धानमा रेखासित निरन्तर फोन सम्पर्कमा भएका आर्सी रोकाया र लोकेश धामी घरबाट गहना चोरी गरी ल्याएको खुलेको छ ।
भारतमा काम गर्दै आएका हिमालको मोटरसाइकल चढेर उनीहरु घर पुगेर चोरी गरी समान ल्याएका छन् ।
मोटरसाइकलका कारण हिमाल थुनिएका छन् । रेखा र आर्सिले योजना बनाएको हुन सक्ने प्रहरी आशङ्का छ । आर्सि कहाँ छन भन्ने प्रहरीलाई सूचना छैन ।
इलाका प्रहरी इन्चार्ज सोनीले प्रहरीले सबैसित सोधपुछ गरी घट्नाबारे जानकारी लिएको बताए । प्रहरीले नियन्त्रणमा लिएर पाँच जना छाडेको र प्रहरीको घट्नास्थल मुचुल्का विवादमा तानिएको छ ।
सामाजिक सञ्जालमा समातिएका मान्छे किन छाडिएको भन्दै प्रहरीसित प्रश्न सोधिएको छ ।
दोधारा चाँदनी ९ का वडा अध्यक्ष गोपीलाल कँडेलले वडाको घटनाबारे जानकारी नदिई अचानक मुचुल्कामा हस्ताक्षर गर्न बोलाएको भन्दै असन्तुष्टि पोखेका छन् ।
वडा अध्यक्षलाई मुचुल्कामा हस्ताक्षर गर्न प्रहरीले बोलाएपछि उनले बोलेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको छ ।
इलाका प्रहरी कार्यालयका इन्चार्ज सोनीले आँपको रुखमा सुनका गरगहना भेटिएपछि बाहिर निकालेर घरमा राखेको अवस्थामा बरामद गरी ल्याएको बताए ।
प्रहरी निरीक्षक सोनीका अनुसार बरामद गहनाका १७÷१८ आइटम छन् ।
‘अहिले बाहिर आए हल्ला जस्तो होइन, गहनावाला धनी आएर ओके भनेपछि पाँच जना छाडेका हौ’ उनले भने ।
प्रहरीले गहना बरामद गर्दा मुचुल्का बनाएको प्रहरी निरीक्षक सोनीले दाबी गरे ।
‘मुचुल्का त्यति बेला गरेको हो, सकेसम्म सम्बन्धित तहका जनप्रतिनिधि राख्ने वा नभए भद्र भलादिमीलाई पनि राख्न सकिन्छ’ उनले भने, ‘सन्दिप उपाध्यय त्यहाँ केही कामले जानु भाको रहेछ, वहाँबाटै गराइयो ।’
प्रहरीको घट्नास्थल मुचुल्का सम्बन्धि व्यवस्था मुलुकी फौजदारी संहिताको दफा १९ मा छ ।
इलाका प्रहरी इन्चार्ज सोनी गहना धनीले आफ्नो देशमा कानुनी प्रक्रिया पूरा गरी आएपछि फिर्ता गरिने बताए ।
झाक्री टोलकी सम्झना आफूलाई कानुनबारे केही जानकारी नभएको बताउँछिन् । ‘कानुन थाह छैन, मलाई केही थाह छैन’ उनले भनिन्, ‘घरमा दोबरा कोही पनि आएका छैनन् ।’
