

महेन्द्रनगर । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुव्र्यवहारको विरोधमा मंगलबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ ।
संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।

संघका अनुसार गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पु¥याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो ।
सोही घटनाका दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेको समयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा बल प्रयोग गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गालीगलौज तथा दुव्र्यवहार गरिएको भन्दै संघले यस घटनाको घोर भत्र्सना गरेको छ।नेपाल चिकित्सक संघले डा. प्रमोद राम र अन्य स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गर्ने दोषीहरूलाई अविलम्ब पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्न माग गरेको छ ।
यसका साथै वार्ताको क्रममा चिकित्सकहरूको मानमर्दन र दुव्र्यवहार गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत तत्काल कारबाही गर्न संघले राज्यसँग माग गरेको छ ।
राज्यको दमनकारी व्यवहारको विरोध स्वरूप आजका लागि सांकेतिक रूपमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको र आन्दोलनका थप कार्यक्रमहरू आज नै आयोजना गरिने सर्वपक्षीय भेलाबाट तय गरिने विज्ञप्तिमा उल्लेख छ । संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस आन्दोलनबाट बिरामीहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार स्वयंले लिनुपर्ने स्पष्ट पारिएको छ।
