

महेन्द्रनगर । भारतीय एसएसबीले नेपालीमाथि गरेको दुव्र्यवहार घट्ना दुबै पक्षबीच छलफलपछि समाधान गरिएको
छ । शारदा बाँध क्षेत्रमा घुम्ने क्रममा एसएसबीले दोधारा चाँदनी नगरपालिका २ की हिमानी गिरी र उनका भाईलाई गालीगर्लौज र कुटपिट गरेको थियो ।
दिदी र भाईलाई गालीगर्लाैज र कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । एसएसबी दुव्र्यवहारको त्यसपछि चौतर्फी आलोचना भएको थियो ।
दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बु सहितको टोलीले सोमबार साँझ एसएसबीको झंगैया थानामा छलफल गरी समाधान गरिएको हो ।
छलफलका लागि मेयर लिम्बु एसएसबीको गाडीमा बसेर थाना पुगेका थिए । उनी पीडित दुबै जनालाई आफूसंगै गाडीमा बसाएर लगेका थिए । उनीहरुसंगै दोधारा चाँदनी नगरपालिका ७ का वडा अध्यक्ष ज्ञानेन्द्र सिह बहेक क्षेत्री पनि थापा पुगेका थिए । उनीहरुलाई थानासम्म लैजान समिासम्म भारतीय एसएसबीको गाडी आएको थियो ।
मेयर लिम्बुले सामाजिक सञ्जालबाट छलफल गरी मिलापत्र गरिएको जानकारी गराएका हुन् ।

‘उत्तर प्रदेशको डाम घुन्न गएको समयमा नेपाली चेलीमाथि हिजो पुलिस प्रसाशनद्वारा दुव्र्यहार भएको भन्ने कुरा सामाजिक सञ्जालमा आएपछि आज करिब ५ बजेतिर पानी परिरहेको बेला पनि सीमाबाट भारती प्रहरीकै गाडीमा बसेर ती बहिनीहरूलाई पनि सँगै लगेर झंगैयाको थानामा पुगियो र दुबै पक्षलाई सन्तुष्टि हुने गरी छलफल गरेर कुरा मिलाएर भर्खर घर पुगियो’ उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
दुव्र्यवहार घट्ना बाहिर आएपछि सोमबार भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले प्रम्ुख जिल्ला अधिकारी मदन कोइरालाई कार्यकक्षमा ध्यानाकर्षण गराएका छन् । उनले सीमामा वर्षौदेखि नेपालीले सास्ती र दुःख पाउँदै आएकाले समाधानका लागि गम्भीर हुनु पर्ने आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी कोइरालाले सीमा समस्या समाधानमा कुटनीतिक पहल गरिने आश्वासन दिएको वडा अध्यक्ष थापाले बताए ।
यसैबीच एमालेका युवा नेता बचन बहादुर सिंहले दोधारा चाँदनीका दुई जनालाई शारदा बाँध क्षेत्रमा गरेको दुव्र्यवहार निन्दनीय भएको भन्दै निष्पक्ष छानबिन गरी कारवाही हुनु पर्ने माग गरेका छन् ।
भारतीय एसएसबीले गालीगलौज र कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । एमाले नेता सिंहले नेपाल र भारत दुबै सरकारलाई जिम्मेवार र प्रभावकारी कदम चाल्नु आग्रह गरेका छन् ।
‘नेपाली नागरिकमाथिको कुनै पनि अन्याय अब सह्य हुने छैन। नेपालको सार्वभौमिकता, नेपालीको आत्मसम्मान, स्वाभिमान र नागरिकको सुरक्षामाथि चोट पुग्ने कुनै पनि घटनामा दुवै सरकारले तत्काल, जिम्मेवार र प्रभावकारी कदम चालोस। मित्रता बराबरी, सम्मान र न्यायमा टिक्छ—धम्की, दमन र मौनतामा होइन। भारतीय सुरक्षाकर्मीको हैकमवादी व्यवहार तत्काल रोकियोस्, घटनाको निष्पक्ष छानबिन होस् र दोषीमाथि कडा कारबाही गरियोस्’ सिंहले भनेका छन् ।
सामाजिक सञ्जालमा एसएसबीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि सिंहले सामाजिक सञ्जालबाट घट्नाको भत्र्सना गरेका छन् ।
