

महेन्द्रनगर । बेदकोट नगरपालिका सहकारी सञ्जालका पदाधिकारीले सुुदूरपश्चिम सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेर सचिव शंकर शाहलाई मलखाद समस्या हल गर्न आग्रह गरेका छन् ।
कृषि सामाग्री केन्द्रबाट दिएको मल किसानको माग अनुसार अपुग भएर वितरणमा समस्या आएपछि उनीहरु मन्त्रालय पुगेर सचिवको ध्यानाकर्षण गराएका छन् ।
मन्त्रालयका सचिवसित उनीहरुले सहकारीलाई माग अनुसार मल उपलब्ध गराउनु पर्ने माग राखे । उनीहरुले माग अनुसार मल नभएपछि वितरण गर्न सकिने अवस्था नभएको भन्दै सचिवलाई जानकारी गराए ।
बेदकोटमा केही सहकारीले किसानको भीड भएपछि प्रहरी लगाएर मल बाँडेका छन् । अन्य सहकारी पनि माग अनुसार नभएपछि वितरणका लागि डराउनु पर्ने अवस्थामा पुगेका छन् ।
बेदकोट नगरपालिका ९ सुन्दरपुरस्थित इन्द्रेणी कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज भट्टले मन्त्रालयमा सचिवसित मलखादको समस्या सुनाए । उनले आफ्नै सहकारीले मल वितरण गर्दा देखिएको समस्या अवगत गराए ।
सहकारीका व्यवस्थापक लक्ष्मीदत्त भट्टका अनुसार कृृषि सामाग्री केन्द्र लि.बाट मंगलबार ३७ कट्टा युरिया लगिएको थियो । सहकारीले कार्यालय मल वितरण गर्ने जानकारी गराइएको थियो ।

मल लिन किसान सहकारी आउन थाले । सहकारीले नाम संकलन गर्न थालेपछि मल लिने पाँच सय किसान पुगेका थिए । सहकारीले सबै किसानलाई दिन सक्ने अवस्था नभएको भन्दै छलफल गर्न थालेपछि किसान निराश भए ।
दिनभरि छलफलपछि सहकारीले ३ सय ५० किसानलाई ३७ कट्टा मल बाँड्यो । सहकारी कार्यालयमा मलको कट्टा खोलेर सबैलाई बाँडिएको थियो ।
‘३७ कट्टा कसरी बाँड्ने, समस्या प¥यो, अन्तिममा त्यसलाई बाँडेर किसान घर पठायौं,’ सहकारीका व्यवस्थापक भट्टले भने,‘मागे जति मल आउँदैन, अनि किसानले भने अनुसार सहकारीले कसरी दिन सक्छ ।’
सहकारीमा मल लिने किसानको भीडपछि अध्यक्ष भट्ट सहकारी सञ्जालका पदाधिकारीसंगै गुनासो लिएर मन्त्रालय पुगेका हुन् ।
मन्त्रालयका सचिव शाहले मलखादमा देखिएको समस्या समाधानका लागि आफूहरु लागि परेको जानकारी दिएको भेटघाटमा सहभागीले बताए ।
कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म चार हजार ९८९.५ मेट्रिक टन युरिया मल वितरण गरिएको छ ।
भीमदत्त नगरपालिकामा ९५९.३ मेट्रिक टन, वेदकोट नगरपालिकालाई ६९५.५ मेट्रिक टन, शुक्लाफाँटालाई ९२४.५ मेट्रिक टन, कृष्णपुरलाई १२३८.६५ मेट्रिक टन, दोधारा चाँदनीलाई ५११ मेट्रिक टन र बेलडाँडी गाउँपालिकालाई ५७२.२ मेट्रिक टन युरिया पठाइएको छ ।
कञ्चनपुरका सबै ९ पालिकाका ९६ कृषि सहकारी मार्फत मल वितरण गरिएको छ । चालु आवको १२ दिनमा २ सय ४० मेक्टिक टन युरिया मल आएकाले अझै ६९.६ मेट्रिक टन मौज्दात छ ।
