

महेन्द्रनगर । बेदकोट नगरपालिका ३ सामादैजीका डम्बर राज पनेरु तीन सातादेखि मलखादका लागि सहकारी धाई रहेका छन् । उनी बिहीबार पनि साना किसान कृषि सहकारी संस्था आएर अध्यक्ष जयराज जोशीसित मलका लागि आग्रह गरि रहेका थिए ।
‘तीन हप्तादेखि आई रहेको छु, हिजो पनि आएको थिए, आज पनि आएको छु’ उनले भने ।
उनी धानमा दुई महिनासम्म युरिया हाल्न नसकेको चिन्तित छन् । उनले एक बिगाहा जग्गामा धान खेती गरेका छन् ।
‘रोपाई गरी सकेको २०–२५ दिनमा युरिया हालि सक्नु पर्ने हो, अहिले त दुई महिना भयो, मल नै मिलि रहेको छैन’ उनले भने ।
पनेरुले विगत वर्षमा पनि मलखादको समस्या झेल्नु परेको सुनाए । यस वर्ष विगत भन्दा बढी नै समस्या परेको उनी बताउँछन् ।
‘पहिला पहिला पनि मलको समस्या त हुन्थ्यो, एक दुई दिनसम्म रहन्थ्यो, त्यसपछि मिलि हाल्थ्यो, यस पाली त लास्टै भो’ उनले भने, ‘रोपाई गर्ने बेला पनि यस्तै भो ।’
धानमा युरिया हाल्न नपाएपछि धान उत्पादन घट्ने चिन्ता पनेरुलाई छ । उनी भन्छन्, ‘धान बढ्दैन, धानले पाउनु पर्ने तत्व नै पाउँदैन, त्यसपछि उत्पादन त घटि हाल्छ ।’
पनेरुसंगै मलका लागि आएकी सामादैजीकी गोमती खत्रीले आफूले धान रोप्न बेला समेत मल पाएकी छ्रैनन् ।
रोपाई गरि सकेपछि अहिले युरिया पाउने आशमा उनी सहकारी आएकी छन् । डेढ बिगाहा जग्गामा धान लगाएकी खत्री पाँच दिनदेखि लगातार मल खोजीमा लागेको बताउँछिन् ।
‘विहान आएको हुँ, जडखाद पनि पाएन, चार पाँच दिनदेखि आई रहेकी छु’ उनले भनिन्, ‘यसरी आउँदा अब त मलाई नै लाज लाग्न थालि सक्यो ।’

सहकारीमा ३७ कट्टा युरिया पुगेको जानकारी पाएपछि किसानहरु विहानै सहकारी आएको अध्यक्ष जोशीले बताए ।
‘यो ३७ कट्टा कसरी बाँड्ने हो, मान्छे बढी छन्, मल कम छ’ अध्यक्ष जोशीले भने ।
अध्यक्ष जोशीका अनुसार हालसम्म जेठमा ४० कट्टा युरिया र ४० कट्टा डिएपी कृृषि सामाग्री केन्द्रबाट लगिएको थियो । त्यसपछि कृषि सामाग्रीबाट ११४ कट्टा युरिया लगेर किसानलाई बाँडिएको छ ।
‘अहिले फेरि यो ३७ कट्टा आएको छ, किसान आएर यहाँ दिमाग खान लाग्या छन्’ उनले भने,‘यस पाली पनि निकै कम छ, किसानलाई कसरी पूर्ति गर्ने हो ।’
सहकारीका शेयर सदस्य सहित किसानले विहानैदेखि मलका लागि फोन गर्दै आएको उनले बताए ।
कृृषि सामाग्री केन्द्रमा ७० हजार धरौटी राखेर सहकारीले मल बिक्री अनुमति लिएका छन् ।
सहकारीका अध्यक्ष जोशीले राज्यका कारण मलखाद अभाव भएको बताए । ‘यो समस्या राज्यका कारण हो, समयमा पुगाउन दिनु पर्ने थियो, त्यो नभएर समस्या भयो’ उनले भने ।
कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म चार हजार ९८९.५ मेट्रिक टन युरिया मल वितरण गरिएको छ ।
भीमदत्त नगरपालिकामा ९५९.३ मेट्रिक टन, वेदकोट नगरपालिकालाई ६९५.५ मेट्रिक टन, शुक्लाफाँटालाई ९२४.५ मेट्रिक टन, कृष्णपुरलाई १२३८.६५ मेट्रिक टन, दोधारा चाँदनीलाई ५११ मेट्रिक टन र बेलडाँडी गाउँपालिकालाई ५७२.२ मेट्रिक टन युरिया पठाइएको छ ।
कञ्चनपुरका सबै ९ पालिकाका ९६ कृषि सहकारी मार्फत मल वितरण गरिएको छ । चालु आवको १२ दिनमा २ सय ४० मेक्टिक टन युरिया मल आएकाले अझै ६९.६ मेट्रिक टन मौज्दात छ ।
