

महेन्द्रनगर । धुमपान निषेधका अभियन्ता मदन चन्दले आगामी निर्वाचनमा भीमदत्त नगरपालिका ७ मा वडा अध्यक्ष चुनाव लड्ने तयारी गरेपछि चौतर्फी चर्चा चुलिएको छ ।
चन्दले स्वतन्त्र रुपमा वडा अध्यक्ष चुनाव लड्ने तयारी गरेका छ्न । उनले यस अघि पनि चुनाव लड्न खोजेका थिए ।
यस पटक चन्दले अहिलेदेखि चुनावी तयारी थालि सकेका छन् । सामाजिक संजालमा उनले लागु औषध मुक्त, सुशासन र सभ्य समाज बनाउन आफूले उम्मेदवारी दिन लागेको सार्वजनिक गरेका छन् ।
मदनचोक बर्षौदेखि चिया पसल संचालन गर्दै आएका चन्द पसलमा गुट्खा, खैनी, चुरोट,बिडी लगायत सूर्तीजन्य पदार्थको सेवन विरुद्ध खरो रुपमा लागेका छन् ।
पसलमा सूर्तीजन्य पदार्थको कारोबार गर्ने मात्रै नभएर उनी ती पदार्थ किन्न आउने ग्राहकलाई समेत सम्झाएर फिर्ता गर्दै आएका छन् ।
लागु औषध दुव्र्यसन विरुद्ध जिल्लाका विभिन्न स्थानमा पुगेर उनी सचेतना मुलक कार्यक्रम गर्दै आएका छन् ।
समान्य जीवनशैली, खरो र प्रष्ट बोली भएका चन्द गरीब र समस्यामा परेका व्यक्तिको सहयोगका सधै अग्र पङ्क्तिमा देखिने गरेका छन् ।
चन्द आफ्नै घर खर्च समेत लगेर गरिबका दैलोमा पुगेर सहयोग गरेका छन् ।
चन्द सही र गलत छुट्याएर बोल्ने गर्छन । चाकरीलाई सहन नसक्ने स्वभावका उनी पद प्रतिष्ठा भन्दा सही गलत हेरेर प्रस्तुत हुने गरेका छन् ।

मान्छेका मात्रै सगयोगी नभएर उनी जनावरका दुख पनि सारथी हुने गरेका छन् ।
हरेक साँझ चन्दको पसलमा देखिने अनौठो दृष्यले सबैलाई अचम्म पार्ने गर्छ । साँझपख चन्दको पसलमा कुकुरको हुल आउँछ ।
चन्दले केही खानेकुरा दिनछन् । खाएर सबै कुकुर फर्केर जान्छनु् । दैनिक कुकुर साँझखि पसलमा आएर खाएपछि फर्किने गरेका छन् ।
कुकुरहरूका लागि चन्दले पसल छाडेर अन्य पसल पुगेर खानेकुरा जुटाउँछन् ।
धेरै वर्षदेखि चन्द कुकुरलाई खुवाउँदै आएका छन् । २०४६ को जन आन्दोलनमा सहभागी भएर घाइते भएका चन्द हल्दुखालस्थित जन सेवा माध्यमिक बिद्यालयकि अध्यक्ष भएका थिए ।
जन सेवामा झण्डै चार सय हाराहारी विद्यार्थी छन् । चन्दको समाज सेवा र धुमपान विरुद्धको अभियान राष्ट्रिय स्तरसम्म चर्चा पाएको छ ।
चन्दले समाज सेवाका लागि हेल्प नेपाल संस्था खोलेका छन । २०५८ मा किराना र चिया पसल खोलेपछि समाज संस्था खोलेका हुन् । समाज सेवामा उनी विद्यार्थी जीवनदेखि लागेका थिए ।
चन्दले धूम्रपान निषेध अभियान आफैँबाट सुरुवात गरेका हुन् । धूम्रपान निषेध अभियन्ताका रुपमा उनी विभिन्न स्थानमा सम्मानित भएका छन् । भविष्यका कर्णधार लागु औषधको दलदलमा फसेर देश संकटमा पर्न सक्ने भन्दै चन्द सधैं चिन्तित देखिने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सिडिओ र प्रहरी प्रमुख एसपी समेत आफ्ना लागु औषध सम्बन्धि कार्यक्रममा चन्दलाई सहभागी गराउँदै आएका छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले केही महिना अघि चन्द एक्लैको प्रयास सराहनीय भएको बताएका थिए ।
धूम्रपान, मद्यपान जस्ता वस्तुको उपभोग र सेवनले मानिसको व्यक्तिगत जीवन, घर परिवार, समुदाय, सिंगो राष्ट्रलाई हानी पुगाउने उनी बताउँछन् ।
