

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् ।
बिहीबार बसेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई पदबाट राजीनामा दिने निर्णय गरेको थियो । प्रदेश सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाहले प्रदेश सभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
्आर्थिक वर्ष २०८३÷८४ को बजेटका विषयमा विवाद चर्किएपछि सत्ता साझेदार दल नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा पर्नुभएको थियो। एमालेले समर्थन फिर्ता लिएको ३० औँ दिनमा मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएका छन् ।

प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले बजेट निर्माणको विषयलाई लिएर आफूविरुद्ध राजनीतिक तथा व्यक्तिगत आरोप लगाइएको बताए ।
बजेटको विषयमा विवाद बढेपछि सुदूरपश्चिम प्रदेश नयाँ आर्थिक वर्ष सुरु हुँदासमेत बजेटविहीन अवस्थामा पुगेको थियो ।
मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुलेको छ । केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरण अनुसार नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिच प्रदेश सरकार गठनका लागि सहकार्य भएको छ। सुदूरपश्चिममा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने सहमति भएको जनाइएको छ ।
मुख्यमन्त्री शाह २०७९ माघ २६ गते पहिलो पटक सुदूरपश्चिमको मुख्यमन्त्री बन्नुभएको थियो । बहुमत जुटाउन नसकेपछि उनले पदबाट राजीनामा दिनुभएको थियो भने पछि २०८१ साउन २० गते पुनः दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
