

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरु साउन ८ गते पाँच दिने भारतको गोवा भ्रमणका लागि निस्किएका थिए । कार्य समिति पदाधिकारी र सदस्यले व्यक्तिगत रुपमा उठाएर गोवा भ्रमण गरेका थिए ।
संघका भ्रमण टोलीका सदस्यले बुधबार बाणिज्य संघमा पत्रकारहरुसित भ्रमणका अनुभव सुनाए ।
संघका महासचिव राहुल भट्टले सुरुमै गोवा भ्रमणको उद्देश्य, त्यहाँ पुगेपछि आफूहरुले देखेको विकास र सिकेको कुराबारे जानकारी दिए ।
‘महाकाली नदीको निर्माणाधिन चार लेनको चारैतिर भएका पोखरीलाई जल पर्यटनका रुपमा विकास गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सक्छौ, गोवाको बसाईले यो एकदम गर्न सकिन्छ भन्ने लाग्यो’ महासचिव भट्टले भने ।
संघका अध्यक्ष दिनेश मल्लले आफू दोस्रो पटक गोवा पुगेर विहानदेखि रातिसम्म घुम्न पाएको सुनाए ।
यस अघि उनी पारिवारिक भ्रमणका लागि गोवा गएका थिए । पारिवारिक सदस्य सहित भएकाले पहिलो पटक अहिले जसरी घुमफिर गर्न नपाएको उनले बताए ।
गोवामा बिहान ७ः३० बजे बाहिर निस्केपछि उनले रेस्टुरेन्ट र मदिरा पसल खुला देखे । ‘त्यहाँ रात दिन बन्द नहुने बजार रहेछ’ मल्लले भने ।
पाँच दिने बसाइमा एक दिन मात्रै प्रहरी देखेको मल्लले बताए । समुद्री किनारका बिचमा आफूहरु पुगेको र त्यहाँ लत्ता कपडाका पसल राखिएका थिए ।
गोवा जान अघि उनीहरुलाई बर्खा याम भएकाले समुद्री बिचमा जान सकिने अवस्था नहुने भनेर जानकारी आएको थियो ।
पाँच दिने भ्रमणमा भ्रमण टोलीका अर्का सदस्य जगदीश चन्द्र भट्टले आफूले एक दिन पनि प्रहरी नदेखेको सुनाए ।
भट्ट संघमा कार्य समिति सदस्य छन् । उनले गोवा सुसंस्कृत र व्यवस्थित सहरका रुपमा पाएको उल्लेख गरे ।


भ्रमणबाट अनुपम अनुभव बटुल्ने अवसर पाएको उल्लेख गर्दै उनले गोवाको पर्यटन विकास मोडेललाई अनुसरण गरी सुदूरपश्चिमलाई समृद्धितिर लैजान सकिने बताए ।
भारतका पर्यटकलाई नेपाल ल्याउन सहयोग पुग्ने उद्देश्यले भ्रमण गरिएको भ्रमणका संयोजक संघका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र प्रकाश साउँदले बताए ।
कार्यक्रममा संघका उपाध्यक्ष तेज बहादुर चन्द, निवर्तमान उपाध्यक्ष धर्म सिह रावल, सचिव एनपी जोशी, कार्यकारी अधिकृत हेमराज भट्ट लगायत सहभागी थिए ।
कार्यक्रममा मदन चोकका २२ सटरका व्यवसायीको व्यवस्थापन, व्यवसायीको सडक दुर्घटना बीमा, बजार बन्द लगायतका अन्य विषयमा पनि छलफल गरिएको थियो ।
संघको १८ आंै निर्वाचनबाट मल्ल अध्यक्ष निर्वाचित भएका थिए । संघ स्थापनापछि पहिलो पटक अध्ययनका लागि भ्रमण टोली भारतीय सहर गोवा पुगेको हो ।
समुद्री किनारको भारतीय सहर गोवा लामो समय पोर्चुगलको उपनिवेश भएर पर्यटकीय गन्तव्यका रुपमा परिचित छ ।
समुद्रको वरपर बनाईएका संरचना, क्रुज, क्रुज भित्र नै बनाईएको डान्स, बार, क्यासिनो गोवाका प्रमुख आकर्षण मानिन्छन् ।
गोवा हेर्न बर्षेनी ३० लाख बढी ईसायी धर्मावलम्बी आउने गर्दछन् । गोवाको मुख्य आकर्षण सेन्ट क्याथरीनको गिरजाघर र समुन्द्रि तट पनि हो । गिर्जाघरमा १७ औ शताब्दीको बास्तुकला सौन्र्दय कोरिएको बताइन्छ ।
गोवामाथि झण्डै ४ सय ५० बर्षसम्म पार्चुगलीहरुले शासन गरेका थिए । सन् १९६१ देखि मात्रै यो क्षेत्र भारतको नियन्त्रणमा आएको हो ।
पर्यटकीय नगरी भएकाले संघले गोवा भ्रमणलाई प्राथमिकता दिएको थियो ।
‘कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लज्यूको नेतृत्वमा संघको टोली अध्ययन अवलोकन भ्रमणका लागि मित्रराष्ट्र भारतको गोवा तर्फ आज प्रस्थान गरेको छ’ संघको फेसबुकमा भनिएको छ, २०८३ श्रावण ८ गते देखि सुरु हुने यस भ्रमणले उद्योग व्यवसाय तथा पर्यटन सम्बन्धित विविध पक्षहरूको अध्ययन गर्ने लक्ष्य राखेको छ’ भ्रमणका लागि टोली प्रस्थान भएपछि संघको फेसबुकमा भनिएको थियो ।
