ghar sansar

खगराज भट्ट : जेल र जनयुद्ध हुँदै मुख्यमन्त्री

khasi

महेन्द्रनगर । डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडीमा २०३१ पुस २ गते जन्मिएका खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बनेका छन् । डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रत्यक्ष निर्वाचित भट्ट नेकपा एमाले सहितका दलको समर्थनमा शुक्रबार मुख्यमन्त्री भएका हुन् ।

स्व. रामदत्त भट्ट र आमा गोमतीदेवी भट्टका साहिला पुत्र उनी तत्कालिन नेकपा माओवादीको जनयुद्धमा लागेर जेल जीवन बिताउँदै राजनीतिमा सक्रिय नेता हुन् ।

माओवादी जनयुद्ध सुरु भएको केही महिनामै पक्राउ गरिएका उनी ९ महिनासम्म डडेल्धुरा कारागार बसेका थिए ।

डडेल्धुरा कारागार बस्दा उनी आइएल पढ्दै थिए । जेल मुक्त भएपछि उनी जनयुद्धमा पूर्णकालिन भएर लागेका हुन् ।

त्यस अघि उनी २०४७ मा नेकपा एकता केन्द्रको सदस्यता लिएर २०५० सम्म पार्टीको पूर्णकालीन सदस्य भइ सकेका थिए ।

एकता केन्द्रको डडेल्धुरा जिल्ला सदस्य बनेका भट्ट २०५२ सालमा राज्य विरुद्ध अपराध मुद्दामा पक्राउ परी जेल परेका थिए ।

dirghayi clinic

२०५२ देखि २०६३ सम्म तत्कालीन माओवादीको जनयुद्धका क्रममा भूमिगत रहेका भट्टले पार्टीको जिल्ला सेक्रेटरी, दार्चुला–बैतडी जिल्ला इञ्चार्ज, केन्द्रीय सदस्य तथा सेती–महाकाली राज्यसमिति सचिवलगायतका जिम्मेवारी सम्हालेका थिए ।

२०६४, २०७० र २०७४ सालमा डडेल्धुराबाट संविधानसभा तथा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडेका थिए । ती सबै निर्वाचनमा उनी कांग्रेसका सभापति शेरबहादुर देउवासित पराजित भएका थिए ।

नेकपा गठनपछि २०७६ मा सुदूरपश्चिम प्रदेश सहइञ्चार्ज बनेका भट्ट २०७८ मा नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इञ्चार्ज बने । २०७९ सालको प्रदेशसभा निर्वाचनमा डडेल्धुरा–१ (१) बाट प्रत्यक्ष निर्वाचित भएपछि उनी प्रदेशसभामा प्रवेश गरेका थिए ।

२०८० सालमा उनी संसदीय दलको नेता तथा माओवादी केन्द्रको स्थायी समिति सदस्य बनेका थिए ।

त्यसको दु्ई वर्षपछि मुख्यमन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए ।

तोकिएको समयभित्रै भट्टले एमालेको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । दाबी पेस गरेपछि प्रदेश प्रमुखले आवश्यक प्रक्रिया पूरा गरी उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...