ghar sansar

कसरी बसेका थिए मुख्यमन्त्री भट्ट ९ महिना कारागार

khasi

महेन्द्रनगर । २०५२ मा डडेल्धुरा कारागारको सुरक्षा इन्चार्ज थिए भीमदत्त नगरपालिका १० तिल्केनीका भुपाल सिह विष्ट । उनी इन्चार्ज हुँदा पातलो जिउडालको युवक कारागार चलान भएर आयो । कारागार बसेपछि नियमित पढी रहन्थे । उनले पढ्ने किताब कम्युनिष्ट विचारधारासंग सम्बन्धित हुन्थे । पछि परीक्षामा सामेल गराउने कुरासम्म भयो । उनी ९ महिनापछि रिहा भएर निस्किएका थिए ।

कारागार बसेर निस्किएका तिनै खगराज भट्ट शुक्रबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएका छन् । उनी राज्य विरुद्ध अपराध मुद्दामा पक्राउ परी जेल परेका थिए ।

तत्कालिन कारागार इन्चार्ज विष्टले मुख्यमन्त्री भट्टको त्यति बेलाको पातलो जिउडाल र सरल स्वभाव स्मरण गर्दै भने, ‘राम्रो हुनु हुन्थ्यो, मुख्यमन्त्री बन्नु भएछ, बधाई शुभकामना छ ।’

शुक्रबार भट्ट मुख्यमन्त्री बन्दा विष्ट सुकासालस्थित आफ्नै घरमा थिए । विष्टले घरमा होली फेमली इन्डोर क्रिकेट एकेडेमी खोलेका छन् ।

सशस्त्र द्वन्द्वकालमा प्रहरीको जागिर छाडेर विष्टले शैक्षिक व्यवसाय सुरु गरेका थिए । उनी भीमदत्त नगरपालिका १० स्थित होली फेमली इङ्गलिश बोर्डिङ्ग स्कुलका संस्थापक हुन् ।

मुख्यमन्त्री भट्ट कारागारमा हुँदा आफूले उनीसित कुराकानी गरेको विष्टले सम्झिए । भट्टसित उनले सधैं कम्युनिष्टका किताब पढ्ने गरेको र जनयुद्धमा लागेकोबारे जिज्ञासा राखेका थिए ।

गरीबी धेरै छ, असमानता छ, यसलाई अन्त्य गर्न जनयुद्ध विना सकिदैन भनेर भन्नु हुन्थ्यो’ विष्टले भने ।

कारागार बस्दा उनी आइएल पढ्दै थिए । उनलाई कारागारबाट परीक्षा केन्द्रसम्म लगेर परीक्षा दिने विषयमा छलफल भएको आफूले सुनेको तर पछि के भयो भन्ने कुरा थाह हुन नसकेको उनी बताउँछन् ।

मुख्यमन्त्री मन्त्री भट्ट डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडीमा २०३१ पुस २ गते जन्मिएका हुन् । डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रत्यक्ष निर्वाचित भट्ट उनी स्व. रामदत्त भट्ट र आमा गोमतीदेवी भट्टका साहिला पुत्र हुन् ।

dirghayi clinic

माओवादी जनयुद्ध सुरु भएको केही महिनामै पक्राउ गरिएका उनी ९ महिनासम्म डडेल्धुरा कारागार बसेका थिए । मुख्यमन्त्री भएपछि मिडियाहरुलाई दिएका अन्र्तवार्तामा पनि उनले आफ््नो जेल जीवनबारे जानकारी गराएका छन् ।
डडेल्धुरा कारागार बस्दा उनी आइएल पढ्दै थिए । जेल मुक्त भएपछि उनी जनयुद्धमा पूर्णकालिन भएर लागेका हुन् ।

त्यस अघि उनी २०४७ मा नेकपा एकता केन्द्रको सदस्यता लिएर २०५० सम्म पार्टीको पूर्णकालीन सदस्य भइ सकेका थिए ।

एकता केन्द्रको डडेल्धुरा जिल्ला सदस्य बनेका भट्ट २०५२ सालमा राज्य विरुद्ध अपराध मुद्दामा पक्राउ परी जेल परेका थिए ।

२०५२ देखि २०६३ सम्म तत्कालीन माओवादीको जनयुद्धका क्रममा भूमिगत रहेका भट्टले पार्टीको जिल्ला सेक्रेटरी, दार्चुला–बैतडी जिल्ला इञ्चार्ज, केन्द्रीय सदस्य तथा सेती–महाकाली राज्यसमिति सचिवलगायतका जिम्मेवारी सम्हालेका थिए ।

२०६४, २०७० र २०७४ सालमा डडेल्धुराबाट संविधानसभा तथा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडेका थिए । ती सबै निर्वाचनमा उनी कांग्रेसका सभापति शेरबहादुर देउवासित पराजित भएका थिए ।

नेकपा गठनपछि २०७६ मा सुदूरपश्चिम प्रदेश सहइञ्चार्ज बनेका भट्ट २०७८ मा नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इञ्चार्ज बने । २०७९ सालको प्रदेशसभा निर्वाचनमा डडेल्धुरा–१ (१) बाट प्रत्यक्ष निर्वाचित भएपछि उनी प्रदेशसभामा प्रवेश गरेका थिए ।

२०८० सालमा उनी संसदीय दलको नेता तथा माओवादी केन्द्रको स्थायी समिति सदस्य बनेका थिए । त्यसको दु्ई वर्षपछि मुख्यमन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए ।

तोकिएको समयभित्रै भट्टले एमालेको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । दाबी पेस गरेपछि प्रदेश प्रमुखले आवश्यक प्रक्रिया पूरा गरी उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीका रूपमा भट्टले सुशासन, सामाजिक न्याय र वैज्ञानिक विकासलाई प्राथमिकतामा राख्ने बताउँदै आएका छन् ।

कृषि, पर्यटन, जलस्रोत, खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई समेत उनले आफ्नो प्राथमिकताका रूपमा अघि सारेका छन् ।

Himal dental
सम्बन्धित
Loading...