

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले बुधबार साँझ अकस्मात केही पत्रकारलाई कार्यालयमा बोलाएर कार्यक्रम गरयो ।
गोवा भ्रमणको उपलब्धिबारे जानकारी गराउन र अनुभव आदानप्रदान गर्न कार्यक्रम राखिएको जानकारी गराइएको थियो ।
महासचिव राहुल भट्टले भ्रमण सम्बन्धि जानकारी गराए । गोवा भ्रमणले महाकाली चार लेन पुलका चारैतिर बनाइएका पोखरीलाई पर्यटकीय गन्तव्य बनाउन सकिने सिकाई भएको सुनाए ।
कार्यक्रममा एकाएक बजार बन्दबारे संघका पदाधिकारीले प्रष्टीकरण दिए । यो एकदमै आश्चर्य जनक थियो ।
पत्रकारलाई यो प्रष्टीकरण सुनाउनको बजार बन्दको अर्थ र सन्देश आम जन मानससम्म पुगाउने अपेक्षा थियो होला । तर यो प्रष्टीकरणपछि बाणिज्य संघप्रति केही प्रश्न उठेका छन् ।
संघको १८ औ कार्य समितिले बजार सर्भे गरी महिनामा दुई दिन बजार बन्द गर्ने निर्णय गरेको थियो । त्यस अनुसार अहिले हरेक महिलाको पहिलो र तेस्रो शनिबार बजार बन्द हुँदै आएको छ ।
संघले बजारमा गरेको सर्भेक्षणमा ६ सय ७१ जनामध्ये ३६ प्रतिशले दुई दिन बन्द हुनु पर्ने सुझाव दिएका थिए ।
केही चार दिन पनि बन्द गराउन सुझाव दिएका थिए । ८ प्रतिशतले बजार बन्द गर्न नहुने पक्षमा देखिएका थिए ।
संघले अहिलेसम्म यो निर्णय गरिएको जानकारी सार्वजनिक गर्न आवश्यक ठानेन । विकल्प दैनिकमा केही दिन अघि संघको बजार बन्द सम्बन्धि समाचार सम्पे्रषण भएको थियो ।
अहिले आएर अकस्मात जानकारी दिएपछि यसप्रति चासो बढेको छ ।
होटेल स्वीट ड्रिमका सञ्चालक हेमराज पनेरुले संघको बजार निर्णय व्यवहारिक नभएको बताए ।
‘बजार व्यवसाय बन्द हुनु पर्छ, व्यवसायी कामदारलाई आराम चाहिन्छ, यसमा कसैको पनि दुई मत छैन, तर पहिलो र तेस्रो शनिबार मात्रै व्यवसायीलाई आराम चाहिन्छ भन्ने होइन होला’ उनले भने,‘त्यस बाहेकका शनिबार आराम चाहिँदैन भन्ने हो र ? ’
पनेरुले व्यवसायीलाई आरामका लागि महिनामा एक दिन शनिबार बजार बन्द भए पुग्ने बताए ।
अहिले देशको अर्थतन्त्र अफ्ट्यारो अवस्थामा भएका उद्यमी व्यवसायी सबैभन्दा अफ्ठ्यारो अवस्थामा पुगेका छन् ।

बैंक ऋण र घर भाडा समेत तिर्न सक्ने अवस्थामा नभएको उनीहरु बताउँछन् । कोरोना महामारीपछि आर्थिक मन्दीले व्यवसायी धराशायी हुने अवस्थामा पुगेका हुन् ।
महेन्द्रनगर बजारका अधिकाँश पसल सुनसान देखिन्छन् । गौरा र तीज आउन लाग्दा समेत बजार तङिग्रन सकेको छैन ।
केही व्यवसायी दिनभर पसल व्यवसाय खोलेर बहुनी नगरि साँझ घर फर्किन बाध्य छन् ।
बैंक सहकारी सहित बित्तीय संस्थामा तरलता चुलिएको छ । कारोबार हुन नसकेर व्यवसायी बैक लोन लिन डराउने अवस्थामा छन् ।
सुदूरपश्चिमका सबैभन्दा ठूलो सहकारीमध्ये उदयदेब सहकारीले केही दिन अघि सार्वजनिक गरेको वित्तिय विवरणमा ५५ प्रतिशत तरलता उल्लेख थियो ।
यो अवस्थामा संघले व्यवसायीलाई राहत हुने कार्यक्रम बनाउनु पर्ने व्यवसायीहरु बताउँछन् ।
संघ भने उल्टो बजार बन्द गर्न भन्दै माइकिङ्ग गरी दबाव दिन्छ । संघको निर्णय नमाने कारवाही गर्ने सम्म चेतावनी दिएको व्यवसायीको गुनासो छ ।
संघको निर्णय अनुसार पहिलो दिनको बजार बन्द चौतर्फी आलोचना भएको थियो ।
लोटस स्वीट हाउसका सञ्चालकलाई पसल बाहिर धाकधम्की दिँदै प्रहरी लगाउर थुन्ने चेतवानी दिइएको थियो ।
चौतर्फी आलोचना भएपछि मालिक नभएर कामदार ठानेर बोलिएको भन्दै क्षमा याचना गरेका थिए ।
संघले व्यवसायी र कामदार दुबैलाई आराम गर्न बन्द गरिएको संघको तर्क छ ।
भारतीय सहर बनवासा र खटिमाको बजार हरेक बुधबार बन्द हुन्छ । भारतीय सीमावर्ती सहर नेपालीका किनमेलका मुख्य गन्तव्य हुन् ।
महेन्द्रनगर बन्द भएका दिन भारतीय बजारमा नेपालीको घुँइलो लाग्ने गरेको पाइन्छ ।
बन्दले महेन्द्रनगरमै किनमेल गर्न चाहन खोज्ने नेपाली संघको निर्णय पछि भारत जान बाध्य छ्न ।
बाहिर हेर्दा संघको यो निर्णय भारतीय सहरका कारोबार बढाउन सहयोगी भएको छ ।
संघका महासचिव राहुल भट्टले व्यवसायीको माग अनुसार बजार बन्द हुने गरेको बताए । बजार बन्दबाट एक रुपता आउने, कामदारलाई फूर्सद हुने र व्यवसायीलाई पनि मानसिक तनाव कम हुने महासचिव भट्ट बताउँछन् ।
