

महेन्द्रनगर । प्रशासकीय अदालतले जानकी कन्या माध्यमिक विद्यालयका प्रधानाध्याक अन्जुला भट्टको सरुवा पदस्थापनमा जारी अन्तरकालिन आदेश बदर नहुने ठहर गरेको छ ।
प्रधानाध्यापक भट्टले भीमदत्तले बैशाख १० गते गरेको सरुवा पदस्थापन निर्णय खारेजका लागि प्रशासकीय अदालतमा निवेदन दिएकी थिइन् । अदालतले असार १० गते भीमदत्त नगरपालिकाकालाई भट्टको सरुवा पदस्थापन निर्णय कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको थियो ।
अदालतले पेशी तोकेर दुबै पक्षलाई अर्को दिन उपस्थिति हुन आदेश दिएको थियो । भीमदत्त नगरपालिका अदालतमा अनुपस्थित भएपछि अदालतले अन्तरकालिन आदेशलाई निरन्तरता दिएको थियो ।
भीमदत्तले त्यसपछि आदेश खारेजीका लागि प्रशासकीय अदालतमा निवेदन दिएको थियो ।
भीमदत्तको आदेश खारेजी निवेदनमाथि सुनुवाई गर्दै प्रशासकीय अदालतका अध्यक्ष डा. टेक बहादुर घिमिरे, सदस्यहरु नबल किशोर यादब र आलोक चन्द्र श्रेष्ठका संयुक्त इजलाशले सोमबार अन्तरिकालिन आदेश बदर गर्न सकिने अवस्था नभएको ठहर गरेको हो ।
‘यस अदालतबाट मिति २०८३÷३÷१७ गते जारी आदेशमा उल्लेखित निर्णयाधारहरुको वैधता वा कानुनी मान्यता र परिस्थितिमा कुनै परिवर्तन नभएको स्थितिमा यस अदालतबाट मिति २०८३÷३÷१७ गते जारी आदेश खारेज गर्नु पर्ने अवस्थाको विद्यमानता रहे भए नपाइएकाले यस अदालतबाट निवेदक समेतका नाममा जारी भएको मिति २०८३÷३÷१७ गते जारी भएको अन्तरिकालिन आदेश बदर गर्न मिल्ने अवस्था देखिएन’ आदेशमा भनिएको छ ।
अदालतले प्रधानाध्यापक भट्टलाई जेसिज मावि राजीपुरमा पदस्थापन गर्ने निर्णय र पत्र कार्यान्वयन नगर्न, भट्टलाई जानकी कन्यामै कामकाज लगाउन र सोही आर्थिक वर्षको आर्थिक कारोबार भए त्यस अनुसार गर्न गराउन आदेश दिएको थियो ।

अदालतले भीमदत्तले बैशाख ११ गते जारी गरेको सरुवा पदस्थापन पत्रमा दरबन्दी मिलान सम्बन्धि कुनै कार्य भए गरेको नदेखिएको तथा शिक्षक सरुवा अधिकार स्थानीय तह र शिक्षा समितिलाई भएको भन्ने कानुनी आधारमा नदेखिएको आदेशमा उल्लेख गरिएको छ ।
भीमदत्तका तर्फबाट जगत प्रकाश जोशी र भट्टका तर्फबाट कमल कोइरालाले बहस गरेका थिए ।
भीमदत्त नगरपालिकाले अर्को चरणको दरबन्दी मिलानको अन्तिम तयारी गरेको बेला अदालतले भट्टको अन्तरकालिन आदेश जारी राखेको छ ।
भीमदत्त नगरपालिकाले पूर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्टको नेतृत्वमा कार्यदल गठन गरी दरबन्दी मिलान गरेको थियो । कार्य दलले जानकी कन्यालाई सुदूरपश्चिम प्रदेशको नमूना विद्यालय बनाउन प्रशासकीय भूमिका हेरफेर गर्न सुझाव दिएको थियो ।
नगर शिक्षा समितिले कार्य दलको सुझाव विपरित आफ्नो सरुवा गरेको भन्दै प्रधानाध्यापक भट्ट अदालत गएकी थिइन् ।
भीमदत्तको शिक्षा शाखाले यस अघि उनको बढवा रोक्न कार्य सम्पादन मूल्याङ्कन (कासमु) फाराममा केरमेट गरेको थियो । उनी त्यस विरुद्ध पनि अदालत गएकी छन् ।
प्रधानाध्यापक भट्ट माध्यमिक तह गणित विषयका शिक्षक हुन् । भट्ट सरुवा भएपछि जानकी कन्यामा मावि गणित शिक्षक दरबन्दी हुन पुगेको छ । अहिले प्राथमिक तहका शिक्षकले गणित पढाउने जिम्मा पाएका छन् ।

