
कृष्णपुर शुक्लाफाँटा हुँदै भीमदत्तसम्म पुग्यो सामुदायिक वनको काठ बिक्री विवाद, मटेनाको बैजनाथको सामुदायिक वन विरुद्ध डिभिजन वनमा उजुरी

महेन्द्रनगर । कञ्चनपुरका विभिन्न सामुदायिक वनको काठ लिलाम बिक्री विवादमा परेको छ । कृष्णपुर नगरपालिका हुँदै शुक्लाफाँटा नगरपालिका भएर काठ लिलाम बिक्री विवाद भीमदत्तसम्म पुगेको छ ।
भीमदत्त नगरपालिका ९ मटेनास्थित बैजनाथ सामुदायिक वनले घाटगद्दीमा राखेको ३ सय २८ थान खयरका गोलियाको ९ सय ५० दशमलव ८१ क्युफिट फिट काठ बिक्रीका लागि खोलिएको लिलाम बिक्रीका लागि बोलपत्र फाराम नै खरिद गर्न नपाएको भन्दै डिभिजन वन कार्यालयमा उजुरी परेको छ ।
९ लाख ५० हजार काठको न्यूनतम मूल्य राखिएको छ । सामदायिक वनले साउन २४ गते काठ लिलाम बिक्रीका लागि सूचना खोलेको थियो ।

काष्ठ व्यवसायी केशव चन्दले बोलपत्र फारम खरिद गर्न सामुदायिक वनको कार्यालय पुग्दा फाराम नपाएको बताए। चन्दले वन कार्यालयमा उजुरी दिएका छन् ।
‘उजुरीमा सूचना प्रकाशित भएपछि फारम लिन जाँदा वन समूहका पदाधिकारी तथा कर्मचारीहरूले कार्यालय बन्द गर्ने, फोन स्विच अफ गर्ने तथा फोन नउठाउनेजस्ता गतिविधि गरिएको उल्लेख छ’ वन कार्यालयमा दिएको निवदेनमा भनिएको छ ।
काठ खरिदका लागि बोलपत्र फाराम किन्न गएका अन्य व्यवसायीले पनि कार्यालय बन्द गरिएको बताएका छन् । सामुदायिक वनले मिलेमतोमा काठ बिक्री गर्ने नियत राखेर कार्यालय बन्द गरिएको उनीहरु बताउँछन् ।
साभार : पुलेसो डटकम
