

महेन्द्रनगर । काँग्रेस नेता पूर्व गृहमन्त्री रमेश लेखकले घोषित अधिवेशन स्थगित गरी अदालतको आदेश पर्खिन सके पार्टी विभाजन रोक्न सकिने बताएका छन् ।
दोधारा चाँदनीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै लेखकले पार्टी एकताका लागि दुबै समूहका अधिवेशन रोकेर वार्ता र छलफल थाल्नु पर्ने बताएका हुन् ।
‘पार्टी विभाजन रोक्न पहिलो दुबै अधिवेशन रोकेर पार्टी एकताका लागि वार्ता र छलफल गरौ ’ कार्यक्रममा लेखकले भने,‘दोस्रो सर्वोच्च अदालतले जे भन्छ, त्यो मानेर जान्छौ भन्नु प¥यो ।’
अदालतको आदेश पर्खिन नसक्ने र अधिवेशन पनि रोक्न नसकिने भएमा पार्टी मिलाउन सकिने अवस्था नहुने लेखकले प्रष्ट पारे ।
‘अहिले अधिवेशन पनि नरोक्ने, अदालतको आदेश पनि नपर्खिने हो , अनि कसरी पार्टी मिलाउन सकिन्छ त ’ उनले भने ।
काँग्रेस विधानमा १४ औं महाधिवेशनबाट निर्वाचित समितिको कार्यकाल चार वर्ष हुने, त्यसमा एक वर्ष थप्न पाउने व्यवस्था भएकाले त्यहीं अनुसार कार्यकाल थपिएको उल्लेख गरे ।
अहिले अधिवेशन रोकेर पार्टी एकताका लागि मिलाउन लाग्नु पर्ने आवश्यकता भएको लेखकले बताए । त्यसका लागि आफूहरु अधिवेशन रोक्न तयार भएको उनको भनाई थियो ।
विशेष महाधिवेशनपछि निर्वाचित समितिले अहिले नेता कार्यकर्तालाई पद बाँड्दै हिँडेको र २४ गतेदेखि वडा अधिवेशन गरी १५ आंै महाधिवेशनको कार्य तालिका सार्वजनिक गरि सकेको उल्लेख गर्दै उनले अहिले पनि आफूहरु एकताका लागि छलफलमा भएको बताए ।

‘पद बाँड्दै हिँड्ने, अधिवेशन पनि गर्ने हो भने हामीले अब के गर्ने ’ उनले भने,‘एक ठाउँमा बसेर वार्ता छलफल गरौ, दुई ठाउँमा बाँडिएपछि मिल्दैन, एक पछि अर्को प्रयास गरि रहेका छौ, मिलाउने पनि पार्टीमा लाग्नु प¥यो ।’
पार्टी एकताका लागि आफूहरु विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई मान्न तयार भएको लेखकले बताए ।
सभापति थापाले आफ्नो बहुमत हुने गरी १४ औं महाधिवेशनबाट निर्वाचित समितिलाई भने समावेश गर्नु पर्ने माग लेखकले अघि सारे ।
‘वहाँलाई अल्पमतमा पर्ने चिन्ता छ भने आफू बहुमतमा हुने गरी जति सकिन्छ, १४ आंै महाधिवेशनबाट निर्वाचित समितिलाई समावेश गर्नु सक्नु हुन्छ’ उनले भने ।
काँग्रेसको निर्वाचन समिति, क्रियाशिल सदस्यता वितरण समिति र अनुशासन समितिमा पनि आफूहरुलाई समावेश गरिनु पर्ने लेखकले बताए ।
गगन थापालाई पार्टी सभापति मानेर पार्टी एक ढिक्का राख्ने कुरा आफूहरुले गरेको लेखक बताउँछन् ।
‘गगनलाई सभापति मानेर पार्टी मिलाउने कुरा त राखेका छौ, अहिले पनि यहीं प्रयास जारी छ, अधिवेशन रोकेनौ भने पार्टी विभाजन हुन्छ, विभाजन रोक्न एउटै उपाय हो अधिवेशन रोक्ने’ लेखकले भने ।
लेखकले अधिवेशन गर्न सुरु गर्नेले नै पार्टी विभाजनको जिम्मा लिनु पर्ने चेतावनी दिएका छन् ।
‘अहिले पार्टी मिलाउनमै लाग्नु पर्छ, नत्र जसले अधिवेशन सुरु गर्छ, त्यसले पार्टी विभाजनको जिम्मा लिनु पर्छ’ उनले भने ।
